समाज


नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध चार कसुरमा मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध चार कसुरमा मुद्दा दायर

नेपालखबर
साउन ३०, २०८१ बुधबार १६:६, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

पर्साको विरगञ्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

नक्कली भुटानी शरअणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको कसुरमा पक्राउ परेका यसअघिका प्रतिवादीहरूलाई पनि यीनै कसुरमा मुद्दा दायर गरिएको थियो।

झालाई असार १४ गते पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

झाको साथबाट प्रहरीले भारतीय आधारकार्ड समेत बरामद गरेको थियो। बेचन झाले मन्त्रिपरिषदबाट भुटानी शरणार्थी सम्बन्धि काम अगाडी बढाउन निर्णय गराउनको लागि भन्दै रामशरण केसीको सिहमालयन बैंकबाट जारी भएको २ करोड रुपैयाँको चेक ग्यारेन्टी स्वरुप लिएको आरोप छ।

उनले उक्त चेकबापतको रकम हरिभक्त महर्जनबाट लिएको आरोप छ। रामशरण केसीलाई पनि शरणार्थी बनाएर अमेरिका पठाइदिने भनि चेक लिएको श्यामकृष्ण श्रेष्ठले सनाखत गरेका छन्।

चेक लिनुभन्दा अगाडि बेचन झा र राम शरण केसीको बीचमा भएको भनिएको अडिओ रेकर्डहरू पनि प्रहरीले परीक्षणका लागि पठाएको छ। बयानका क्रममा बेचन झाले भने आफूमाथिका आरोपको इन्कार गरेका छन्।

बेचन झाले दुई करोडको चेक लिँदाको भिडिओ समेत अदालतमा पेश गरिएको छ। यस्तै रामशरण केसीले झासँग कुरा गरेको भनि अडिओ समेत पेश गरेका छन्।

उक्त अडिओमा पनि झाले प्रयोग गर्ने मोवाइल नम्बर प्रश्ट देखिएको प्रहरीको दाबी छ।

बेचन झाले २०७८ मंसिर ८ गते चेक लिएको भनिएको थियो। उक्त कुराको प्रमाण रामशरण केसीको मोवाइल फरेन्सिक ल्याबमा परीक्षण गर्दा पनि चेकको फोटो प्राप्त भएको प्रहरीले जनाएको छ।

उनले उक्त चेक बुझेर कन्चन श्रेष्ठलाई आफ्नो नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा भुक्तानीको लागि २०२१ डिसेम्बर ९ मा पेश गरी सो चेक बाउन्स भएको देखिएको छ। बैंकले उक्त रिपोर्ट प्रहरीलाई साउन २८ गते बुझाएको छ।

कन्चन श्रेष्ठले कागज गर्दा पनि आफूले झाको चेक साटिदिन गएको र नसाटिएपछि उनलाई नै फिर्ता दिएको बताएका छन्। बेचन झाले टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राई, टेकनारायण पाण्डेसँग सम्पर्क र समन्वय गरेको पाइएको अभियोग छ।

यसअघिका प्रतिवादीहरू पक्राउ परेपछि झा भारतमा भागेको प्रहरीले जनाएको छ। झा समेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

उनलाई राष्ट्र हित प्रतिकुलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, कीर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad