समाज


अमेरिकी नागरिक लिन हेलिकप्टर स्याफ्रुबेसी जाँदै थियो, काठमाडौँबाट चिनियाँ नागरिक चढे

अमेरिकी नागरिक लिन हेलिकप्टर स्याफ्रुबेसी जाँदै थियो, काठमाडौँबाट चिनियाँ नागरिक चढे

नेपालखबर
साउन २४, २०८१ बिहिबार १२:३८, काठमाडौँ

एयर डाइनेस्टीको बुधबार दुर्घटनामा परेको हेलिकप्टर चार्टर्ड रहेको खुलेको छ। अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिक चढेको र उनीहरू दुर्घटनामा परेको खुलेको हो। 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार सिंहरबारमा बसेको बैठकमा दुर्घटनाबारे जानकारी गराउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल घुम्न आएका चिनियाँ नागरिकहरू घर फर्किन चार्टर्ड भएको हेलिकप्टर चढेको जानकारी दिए।

मानसरोवर घुमेर आएका अमेरिकी नागरिक लिन हेलिकप्टर चार्टर्ड भएको भए पनि ट्राभल एजेन्सीको समन्वयमै चाँडो घर फर्किन चाहेका चिनियाँ नागरिकलाई उक्त हेलिकप्टरमा चढाइएको पाइएको मन्त्री पाण्डेले जानकारी दिए। 

अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ।

दुर्घटनाबारे जानकारी गराउँदै मन्त्री पाण्डेले समितिमा राखेको धारणाः 

यो चार्टर्ड गरिएको हेलिकप्टर थियो। अमेरिकी नागरिकहरू स्याफ्रुबेसीबाट फर्किने क्रममा हुनुहुन्थ्यो। उहाँहरूलाई ल्याउनको लागि हेलिकप्टर चार्टर्ड गरिएको रहेछ। 

अमेरिकीलाई लिन जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिकले ठाउँ लिएको देखिन्छ। मुख्यगरी कैलाश मानसरोवरबाट फर्किएका नागरिकलाई लिन गएको देखिन्छ।

चिनियाँ नागरिकहरू पनि पर्यटककै रूपमा नेपाल आउनुभएको थियो। र, तीमध्ये एक जनाको चाँडो घर फर्किनुपर्ने अवस्था थियो भन्ने कुरा पनि हामीले सुनेका छौं। र, स्याफ्रुबेसीबाट चीनतिर जाने गरी उहाँहरू जाँदै हुनुहुन्थ्यो। 

हेलिकप्टर उडेको तीन मिनेटपछि सञ्चार सम्पर्क विच्छेद भयो। केहीबेरसम्म सम्पर्क विच्छेद मात्रै भएको हो भनेर सम्पर्क स्थापित गर्ने कोसिस भयो। ईएलटी भन्ने सिस्टमले हेलिकप्टर ठोक्किएपछि संकेत दिँदोरहेछ। त्यो संकेत पनि किन हो, आएन।

दुर्घटना नै भएको हो कि भनेर अन्य माध्यमबाट बुझ्दै जाँदा स्थानीयले आवाज सुनेको भन्ने जानकारी आयो। त्यहाँ रहेको सेनाको क्याम्पलाई पनि थाहा भयो। त्यसपछि सेनाले टीआईए (विमानस्थल) मा रहेको सेनासँग सम्पर्क गर्नुभयो। त्यसपछि उद्धारका लागि प्रभु हेलिकप्टर पठाइयो। 

सम्भवतः मौसम बिग्रेर हेलिकप्टरलाई अब फर्काउनुपर्छ भनेर पाइलटले प्रयास गरेको जस्तो देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad