ad ad

समाज


काठमाडौँमै हजारभन्दा बढी होस्टल : अब महानगरको मापदण्ड पूरा गरे मात्रै चलाउन पाइने

केटा र केटीको छात्रावास २ सय मिटर टाढा हुनुपर्ने, परिचय खुल्ने कागज अनिवार्य
काठमाडौँमै हजारभन्दा बढी होस्टल : अब महानगरको मापदण्ड पूरा गरे मात्रै चलाउन पाइने

महानगर अनुगमन समिति संयोजक सुनिता डंगोलले होस्टल व्यवसायीहरूलाई मापदण्ड पालना गर्न आग्रह गरेकी छन्


गीता चिमोरिया
साउन २४, २०८१ बिहिबार ९:३५, काठमाडौँ

काठमाडौँ उपत्यकामा करिब साढे ११ सय होस्टल सञ्चालनमा रहेको पाइएको छ। तर, सरकारी निकायसँग सञ्चालित होस्टलहरूको आधिकारिक तथ्यांक भने छैन। 

उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौँमा झन्डै एक हजार होस्टल सञ्चालनमा छन्। होस्टल व्यवसायी संघ नेपालका अनुसार ललितपुरमा करिब एक सयवटा र भक्तपुर जिल्लामा झण्डै ४० वटा होस्टल सञ्चालनमा छन्।

काठमाडौँ महानगरभित्र मात्रै सञ्चालित होस्टलको संख्या झन्डै ७ सय रहेको होस्टल व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष सुनिल भेटवालले जानकारी दिए। यो संख्या दर्ता भएर सञ्चालन भएका होस्टलको मात्रै हो। दर्ता नभई चलेका होस्टलको संख्या महानगरमा करिब तीन सयजति रहेको हुनसक्ने उनको अनुमान छ। 

होस्टलका विषयमा विभिन्न गुनासो आएपछि काठमाडौँ महानगरले गएको सोमबार यस विषयमा छलफल गरेको छ। होस्टलहरूमा होहल्ला हुने गरेको, दुर्व्यसनी बढेकोजस्ता गुनासो बढेपछि महानगरले छलफल गरेको हो। 

काठमाडौँ महानगरले गएको वर्ष होस्टल सञ्चालन मापदण्ड जारी गरेको थियो। महानगर क्षेत्रभित्र सञ्चालन हुने छात्रावास (होस्टल) लाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन भन्दै महानगरले अघिल्लो वर्षको जेठमा छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरेको हो। 

होस्टल मापदण्ड जारी भएपछि सोमबार पहिलोपटक अनुगमन समितिकी संयोजक उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा समितिको बैठक बसेको थियो। उपप्रमुख डंगोलले होस्टल सञ्चालकहरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालन गरेर होस्टल सञ्चालन गर्न अनुरोध गरिन्। 

होस्टलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टलमा बस्ने छात्राछात्र तथा अन्य को बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुने उनले बताइन्।
 
होस्टल व्यवसायी संघको तथ्यांक अनुसार झन्डै ४० हजार विद्यार्थी होस्टलमा बस्ने गर्छन्। यति ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको भन्दै डंगोलले विभिन्न समूह विभाजन गरेर अनुगमन गर्न सकिने बताइन्। छलफलमा वडा सदस्यहरूले रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहने, को आउने/जाने थाहा नहुने भन्दै कडा अनुगमन हुनुपर्ने बताएका थिए। घर भाडामा लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने र त्यही संख्या देखाएर महँगोमा होस्टल बिक्री गर्ने समस्या बढेको उनीहरूको भनाइ थियो। 

के छ महानगरले जारी गरेको मादण्डमा? 
महानगरले जारी गरेको मापदण्ड अनुसार छात्रावास सञ्चालन गर्न सम्बन्धित संस्था र वडाको सिफारिससहित महानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ।

आधारभूत मापदण्ड पूरा गरेपछि मात्रै होस्टल सञ्चालन गर्न पाइन्छ। 

छात्रावासमा न्यूनतम भौतिक पूर्वाधार (शौचालय, भान्साघर, पानी आपूर्ति, विद्युत् आपूर्ति, फोहरमैला व्यवस्थापन आदि) को सुविधा र छात्रावास परिसरमा उचित सरसफाइको व्यवस्था हुनुपर्ने, छात्रावासको प्रत्येक कोठा फराकिलो, खुल्ला, पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको हुनुपर्ने, छात्रावासमा प्रत्येक छात्रछात्राहरूका लागि पलङ, दराज, टेबुलको व्यवस्था हुनुपर्ने, छात्रावास भवन कुनै पनि विपद् (बाढी, पहिरो, आगजनी, भूकम्प आदि) को जोखिम नहुने खालको हुनुपर्ने लगायतका विषय मापदण्डमा उल्लेख छ। 

छात्रावास सञ्चालन गर्दा विद्यार्थीहरूका लागि आपत्कालीन अवस्थामा प्राथमिक स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउनुपर्छ।

यस्तै, छात्रावासको स्नान गृहमा उचित भेन्टिलेसनको व्यवस्था गरेको हुनुपर्ने, छात्रावासको (कोठा र शौचालयबाहेक) अन्य आवश्यक भागको निगरानी हुने गरी सीसीटीभी जडान गरेको हुनुपर्ने, छात्रावास भवन कुनै प्रकारको हुलदङ्गा र प्रदूषण आदिको जोखिम नभएको स्थानमा हुनुपर्ने मापदण्डमा उल्लेख छ। 

गर्ल्स र ब्वइज होस्टलको दूरी दुईसय मिटर हुनुपर्ने, श्रीमान्–श्रीमती एउटै होस्टलमा बस्न नपाइने    
महानगरपालिकाले जारी गरेको मापदण्ड अनुसार छात्र र छात्रा दुवैको लागि छात्रावास सञ्चालन गर्ने भएमा त्यस्ता भवनहरू नजिकमा आमनेसामने नभई कम्तीमा २०० मिटरको दुरी कायम गरी व्यवस्थापन गर्नुपर्नेछ भने सम्पूर्ण आन्तरिक सञ्चालनसहितको व्यवस्थापन अलगअलग भवनबाट सञ्चालन गरेको हुनुपर्नेछ।

यसैगरी, छात्रछात्राहरूबीचको नातासम्बन्ध दाम्पत्य भए पनि पति र पत्नी एउटै छात्रावासमा बस्न नपाइने उल्लेख छ। तर, सञ्चालक र छात्रावासका कर्मचारीको हकमा भने यो प्रावधान लागू हुनेछैन।

छात्रावासको साइनबोर्ड सार्वजनिक रूपमा महानगरपालिकाले तोकेको आकार, प्रकार, रङ र स्थानमा प्रष्ट देखिने र बुझिने गरी दर्ता नम्बरसमेत उल्लेख गरेर राख्नुपर्ने महानगरले भनेको छ। 

परिचय खुल्ने सरकारी कागज नभई विद्यार्थी राख्न नपाइने 
महानगरले परिचय खुल्ने सरकारी कागजात लिएर मात्रै छात्रावासमा विद्यार्थी राख्न भनेको छ। मापदण्डको १८ नम्बरमा भनिएको छ, ‘छात्रावासमा बस्ने सबैको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा परिचय खुल्ने कुनै सरकारी कागजातको प्रतिलिपिसहित छुट्टाछुट्टै व्यक्तिगत विवरण सहितको फाराम अद्यावधिक गरेको हुनुपर्नेछ।’ 

छात्रावासमा बस्ने छात्रछात्रा बाहिर जाने र भित्र प्रवेश गर्ने समय र अनुमतिसम्बन्धी प्रावधान स्पष्ट हुनुपर्ने पनि भनेको छ। 

छात्रावासमा कुनै प्रकारको लागुपदार्थ, मदिराजन्य तथा सुर्तीजन्य पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न पाइनेछैन। त्यस्ता निषेधित वस्तुको सेवन वा बिक्री वितरण वा ओसारपसार गरेको भेटिएमा सञ्चालक र सेवाग्राही दुवैलाई कडा कारबाही गरिने उल्लेख छ। 

सञ्चालकबाट परिपक्व अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले ३० वर्ष उमेर पूरा भएको व्यक्तिले मात्रै छात्रावास सञ्चालन गर्न पाइने भनिएको छ। 

महानगरले जारी गरेको मापदण्डमा भएका कतिपय विषयमा भने होस्टल सञ्चालकहरूले असहमति जनाएका छन्। संघका अध्यक्ष भेटवाल छात्रा र छात्रका लागि सञ्चालन हुने छात्रावासको दूरी दुईसय मिटर हुनुपर्ने विषय पहिले नै खुलिसकेका होस्टलका हकमा कार्यान्वयन गर्न कठिन हुने बताउँछन्।

नयाँ खुल्ने होस्टलको हकमा यो विषय कार्यान्वयन गर्न सकिने उनको भनाइ छ। यस्तै, सञ्चालकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि व्यावहारिक नभएको उनी बताउँछन्। भेटवालले भने, ‘कतिपय युवाले पढाइ पूरा गरिसकेपछि २६/२७ कै उमेरमा पनि यो व्यवसाय सुरु गर्नुभएको छ। व्यवस्थापन पनि राम्रो गरिरहनु भएको छ। अब उमेरकै कारण उहाँहरूलाई यो व्यवसाय नगर्नु भन्न पनि असजिलो हुन्छ।’

उपप्रमुखको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति  
काठमाडौँ महानगरपालिकामा उपप्रमुख संयोजक रहनेगरी ९ सदस्यीय अनुगमन समिति बनेको छ। जसमा छात्रावास रहेको सम्बन्धित वडाको वडा अध्यक्ष वा अध्यक्षले तोकेको वडा सदस्य, महानगरपालिकाको मानव अधिकार क्षेत्र हेर्ने अधिकृत स्तरको कर्मचारी, स्थानीय प्रहरी कार्यालयले तोकेको प्रतिनिधि, नेपाल होस्टल एसोसिएसन र होस्टल व्यवसायी संघ नेपालले तोकेको एकएक जना प्रतिनिधि गरी दुई जना हुन्छन्।

त्यस्तै, छात्रावाससम्बन्धी विषयविज्ञ एक जना, खाद्यपरीक्षण तथा पोषण क्षेत्र हेर्ने महानगरपालिकाको कर्मचारी वा सो विषय क्षेत्रका विज्ञ एक जना अनुगमन समितिको सदस्य रहनेछन्। महानगरपालिकाको शिक्षा विभागको विभागीय प्रमुख वा प्रमुखले तोकेको अधिकृत सदस्य सचिव रहने व्यवस्था छ। 

अनुगमन समितिले विभिन्न उपसमिति बनाएर होस्टलहरूको अनुगमन गर्ने महानगरले जनाएको छ। 

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका उपसचिव गोविन्दप्रसाद शर्माले छात्रावासहरूलाई व्यवस्थित बनाउन नियमित अनुगमन गरिने बताए। 

उनले भने, ‘वडाले वा अन्य निकायले गर्ने अनुगमन छँदैछ, महानगरपालिकाले गर्ने अनुगमन पनि नियमति रूपमा नै हुन्छ।’

नेपाल होस्टल एसोसिसयनकी केन्द्रीय अध्यक्ष सुनिता लाकौल सरकारी मापदण्ड बाहेक सञ्चालकहरूको पनि छुट्टै मापदण्ड रहेको बताउँछिन्।
 
छात्रावासलाई व्यवस्थित र मर्यादित बनाउन आफूहरूले सक्दो प्रयास गरिरहेको उनले बताइन्। निकै अनुरोध गर्दा पनि कतिपय सञ्चालकहरू दर्ता हुन नआउने भएकाले त्यस्ता छात्रावास अनुगमनमा भने समस्या हुने उनको भनाइ छ। काठमाडौँ उपत्यका बाहिर काभ्रे, कास्की, मोरङ लगायतका जिल्लामा पनि होस्टलहरू सञ्चालन भइरहेको उनले जानकारी दिइन्।    

संघका अध्यक्ष भेटवाल होस्टलहरूको नियमित अनुगमन हुन नसक्दा दर्ता नगरी सञ्चालन गर्ने लगायतका समस्या बढेको बताउँछन्। काठमाडौँ उपत्यकाको डिल्लीबजार, पुतलीसडक, बागबजार, बुद्धनगर, बानेश्वर, शान्तिनगर लगायतका क्षेत्रमा सबैभन्दा धेरै होस्टल रहेका छन्।    

होस्टलहरूलाई अझै व्यवस्थित बनाउनको लागि अस्पतालसँगको सहकार्यमा होस्टलमा बस्ने छात्रछात्राहरूलाई एम्बुलेन्स तथा स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने, विद्यार्थीहरूको स्वास्थ्य बिमा गर्ने जस्ता काम व्यवसायीको तर्फबाट गर्न लागिएको होस्टल व्यवसायी संघ नेपालले जनाएको छ। 

संघको बुधबार बसेको बैठकले लागुऔषध दुर्व्यसन विरुद्ध छात्रछात्राहरूलाई तालिम र विद्यार्थीहरूको मनोविज्ञान बुझ्नको लागि सञ्चालकहरूलाई मनोविज्ञमार्फत् तालिमको व्यवस्था गर्ने विषयमा छलफल गरेको छ। पढाइ र अभिभावक दबाबका कारण होस्टलमा बस्ने कतिपय विद्यार्थीले गलत कदम चाल्ने गरेको पाइएकाले यस विषयमा अभिभावकले विशेष ध्यान दिनुपर्ने होस्टल सञ्चालक भेटवाल बताउँछन्। 

‘एक त विद्यार्थीहरू आफैँलाई पढाइको प्रेसर हुन्छ, त्यसमाथि पढाइमा राम्रो गर्न सकेन भने अभिभावकको दबाबले गर्दा उनीहरू मानसिक रूपमा एकदमै अप्ठ्यारो अवस्थामा पुग्छन्,’ उनले भने, ‘अस्ति मात्रै कक्षा १२ को नतिजा आउँदा एकजना बहिनीले ज्यान दिने कोसिस गर्नुभएछ। तत्कालै अस्पताल लग्न भ्याएर मात्रै उहाँलाई केही हुन पाएन। कक्षा १२ को रिजल्टमा ब्याक लागेछ, घरमा बुवाआमाबाट टर्चर भयो भनेर उहाँले त्यसो गर्नुभएछ।’ 

होस्टल सञ्चालकहरूको दुईवटा संस्था
होस्टल सञ्चालकहरूको दुईवटा संस्था छन्ण्। २०५९ सालमा स्थापना भएको नेपाल होस्टल एसोसियसको अध्यक्षमा हाल सुनिता लाकौल छिन्। 

असन्तुष्ट भएका केही सञ्चालकहरूले एसोसियसनबाट फुटेर दुई वर्षअगाडि अर्को संस्था होस्टल व्यवसायी संघ नेपाल खोलेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .