ad ad

समाज


बम्जनको बयान : बेपत्ता किशोरी फूलमायालाई चिन्दिनँ, आश्रममा आएको पनि थाहा छैन

बम्जनको बयान : बेपत्ता किशोरी फूलमायालाई चिन्दिनँ, आश्रममा आएको पनि थाहा छैन

उजिर कार्की
साउन १५, २०८१ मंगलबार २२:६, काठमाडौँ

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनले मकवानपुरकी किशोरी फूलमाया रुम्बालाई सिन्धुपाल्चोकको आश्रमबाट बेपत्ता बनाएको अस्वीकार गरेका छन्। 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ की फूलमायाका बुबा वीरबहादुर रुम्बाले सिन्धुपाल्चोकको आश्रमबाट बम्जनले आफ्नी छोरी बेपत्ता बनाएको भन्दै जाहेरी दिएका थिए। अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा बम्जनविरुद्ध मुद्दा दायर भएको थियो। 

त्यसअघि नै सिन्धुपाल्चोक लगेर बम्जनको बयान गराइएको थियो। तर बम्जनले सरकारी वकिल कार्यालयमा भएको बयानमा आफूमाथि लागेका सबै आरोपमा इन्कार गरेका छन्। 

सोमबार अदालतले उनीसँग फूलमाया बेपत्ता बनाएको आरोपमा तीन लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। यसअघि नै बाल यौन दुरूपयोगको कसुरमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका बम्जनलाई यो मुद्दाको लागि सिन्धुपाल्चोक लगिएको थियो। 

बम्जन फरार हुँदा उनीविरुद्धका कुनै पनि मुद्दा अगाडि बढ्न सकेका थिएनन्। तर गएको पुसमा काठमाडौँबाट पक्राउ गरेर सर्लाही लगेसँगै उनीविरुद्ध परेका सबै उजुरीमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। 

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित बम्जनले सञ्चालन गरेको आश्रममा २०७१ सालदेखि आफ्नी छोरी हराएको रुम्बाको जाहेरीमा उल्लेख छ। फूलमाया उनकै आश्रममा बसेर काम गर्थिन्। तर बम्जनका कुनै पनि आश्रममा फेला नपरेको भन्दै रुम्बाले बम्जनविरुद्ध सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए। 

तर रामबहादुर बम्जनले भने फूलमायालाई आफूले नचिनेको बयान दिएका छन्। 

‘मलाई यस मुद्दामा जाहेरी दरखास्त दिने जाहेरवाला वीरबहादुर रुम्बालाई मैले चिनेको छैन। निज जाहेरवालाको छोरी फूलमाया रुम्बा कहिले कुन मितिदेखि मेरो आश्रममा आई ज्ञान प्राप्तिको लागि बसेको हो मलाई जानकारी भएन,’ उनले बयानमा भनेका छन्, ‘जाहेरवालाको छोरीलाई म बस्दै आएको कुनै पनि आश्रममा आई कामकाज गरी ज्ञान प्राप्तिको लागि बसेको मलाई एकिन थाहा भएन।’

बाराकै स्कुलमा कक्षा ५ सम्म लेखपढ गरेका बम्जनले १७ वर्षको हुँदा हलखोरिया जंगलमा ध्यान गर्न थालेका थिए। 

करिब ८ वर्ष सोही जंगलमा ध्यान गरेपछि सर्लाहीको पत्थरकोटमा अस्थायी आश्रममा गई आफ्ना भक्तजनलाई ‘ज्ञान’ बाँड्न थालेका थिए। 

त्यसपछि सिन्धुलीको पहिरेमा स्थायी रूपमा बस्न थालेका थिए। बेला बखतमा सिन्धुपाल्चोकको टोड्के भिरमा रहेको आश्रममा समेत जान्थे। तर यी कुनै पनि आश्रममा आउने भक्तजनहरूलाई आफूले नचिन्ने उनले बताएका छन्। 

फूलमाया रुम्बालाई आफू बस्दै आएको कुनै पनि आश्रमबाट बेपत्ता पार्ने कार्य नगरेको उनको जिकिर छ। 

फूलमाया बम्जनको आश्रममा जानुपहिले मकवानपुरकै नेवारपानीमा रहेको डोदोन छोलिङ बौद्ध गुम्बामा ३ वर्ष तीन महिना बसेकी थिइन्। आफन्तले दिएको बयान अनुसार बम्जनले तपस्या गरेर बुद्धत्व प्राप्त गरेको भन्ने सुनेपछि फूलमाया २०६८ सालमा उनको आश्रममा गएकी थिइन्। 

२०७० सालको माघमा आउँदा उनलाई निक्कै चिन्तित अवस्थामा भेटेको फूलमायाकी फुपू सुन्तली गोलेले बताएकी छन्। 

‘फूलमायालाई रोइरहेको देखेपछि के भयो भनि सोध्दा उनले जे भए पनि मेरो एउटा जीवन दान दिनलाई केही छैन, म खुसी नै छु भनी रुँदै गरेपछि मैले त्यसो भए अब त्यहाँ नजाऊ भन्दा उसले होइन म जानुपर्छ भनिन्। उनले गुरु (रामबहादुर बम्जन) लाई खाना बनाई खुवाउने काम गर्छु, एकछिन पनि छोड्न मिल्दैन भनेकी थिइन्,’ सुन्तलीले बयानमा भनेकी छन्। 

त्यसपछि फूलमायासँग आफ्नो भेट नभएको उनको बयान छ। 

बम्जनको बोधी आश्रममा गुरु सरोज तितुङले भने २०७१ सालमा आफू पुग्दा फूलमायालाई उक्त आश्रममै देखेको बयान दिएका छन्। उनी आनीको रूपमा आश्रममा रहेको देखेको तर आश्रमको नियम अनुसार महिला र पुरुष बोल्न नमिल्ने उनले बताएका छन्। तर २०७३ साल जेठ २२ गते रामबहादुर बम्जन बाँडेगाउँ आश्रमबाट सर्लाहीको पत्थरकोट गएका थिए। 

‘सर्लाहीको आश्रममा जाँदा गुरुआमा भनिने एकजना महिलासहित अन्य तीनजना आनी र ५/६ जना पुरुष भिक्षुसँग जानु भएको थियो। फूलमाया रुम्बा गुरुमा त्यसभन्दा अगाडि नै बाँडेगाउँ आश्रमबाट निस्केर गइसक्नु भएको थियो,’ सरोज तितुङले बयानमा भनेका छन्। 

त्यसपछि फूलमाया उक्त आश्रममा फर्केर आएको नदेखेको पनि उनले बताएका छन्। २०७५ पुस २७ गतेदेखि मात्रै आश्रममा आउने जानेको नाम दर्ता गरी राख्ने गरेको उनले बताएका छन्। 

बम्जनलाई व्यक्ति बेपत्ता पारेको कसुरमा १५ वर्षसम्म कैद र पाँच लाख रूपैयाँ जरिवानाको माग गरिएको छ। यस्तै बालबालिका सम्बन्धी कसुरमा थप दुई वर्ष कैदको माग पनि गरिएको छ। 

सिन्धुपाल्चोकपछि अब बम्जनलाई अन्य कसुर गरेको जिल्लामा उपस्थित गराइने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .