ad ad

समाज


सिमलतालमा हराएका बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

सिमलतालमा हराएका बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

नेपालखबर
साउन १२, २०८१ शनिबार २१:३६, काठमाडौँ

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ। 

नेपाल–भारत संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो। 

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक एवं विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिए।

उनले अलि तल चुम्बकको सङ्केत मिलेको तर भेटिनसकेको बताए। त्यहाँ १४ र १९ किलोको दुईवटा चुम्बक बसको खोजीका लागि प्रयोग गरिएको थियो।

गत आइतबारदेखि सशस्त्र प्रहरी बलको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको छ। 

गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए। 

ती दुवै बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए।

२४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ। अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .