ad ad

समाज


देशका ७३ जिल्लामा फैलियो डेंगी, १६ सय ५७ जना संक्रमित

देशका ७३ जिल्लामा फैलियो डेंगी, १६ सय ५७ जना संक्रमित

फाइल फोटो। ग्राफिक्स सौजन्य : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा


गीता चिमोरिया
साउन ७, २०८१ सोमबार २०:२९, काठमाडौँ

देशका ७३ जिल्लामा डेंगीको संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७३ जिल्लाका १६ सय ५७ जनामा डेंगीको संक्रमण देखिएको छ।

महाशाखाले सन् २०२४ को सुरुदेखि अर्थात् जनवरी १ देखि जुलाई १८ (पुस १६ देखि साउन ३ गते) सम्मको तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो। 

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा भने हालसम्म डेंगी संक्रमण देखिएको छैन। यसअघि संक्रमण नदेखिएको मुगु जिल्लामा भने अघिल्लो महिनाबाट संक्रमण देखिएको छ। मुगुमा २ जना संक्रमित भएका छन्।  

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा डेंगी संक्रमण उच्च देखिएको छ। सबैभन्दा कम असर कर्णाली प्रदेशमा छ। बागमती प्रदेशका ५७० जना डेंगीको संक्रमणबाट प्रभावित भएका छन्। यो कुल संक्रमणको ३४.४ प्रतिशत हो। 

कोसीमा ३९६, गण्डकीमा २५६, लुम्बिनीमा १९६, सुदूरपश्चिममा १७५, मधेस प्रदेशमा ४१ र कर्णाली प्रदेशमा २३ जनामा डेंगीको संक्रमण भएको छ। 

महाशाखाका अनुसार उच्च संक्रमण हुने १० जिल्लामा काठमाडौं, झापा, चितवन, मकवानपुर, ओखलढुंगा, तनहुँ, भोजपुर, डोटी, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक रहेका छन्।

नेपालमा डेंगी संक्रमणको २० वर्ष : २०२२ मा हालसम्मकै उच्च संक्रमण र मृत्यु   
नेपालमा २०६१ साल (सन् २००४) मा पहिलोपटक डेंगीको संक्रमण देखिएको हो। त्यसअघि १९९६ मै संक्रमण देखिएको भनिए पनि त्यसको आधिकारिक तथ्य फेला नपरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे बताउँछन्।  

सन् २००४ मा एकजनामा देखिएको डेंगी संक्रमण २००६ मा बढेर ३२ जनामा देखियो। (२००५ मा भने संक्रमण देखिएको थिएन) २००७ मा केही घटेर २७ जनामा झरेको डेंगी संक्रमण २००८ मा स्वाट्टै १० जनामा झर्‍यो। २००९ मा ३० जनामा संक्रमण देखिएकोमा २०१० मा बढेर ९१७ जनामा देखियो। २००६ र २०१० मा प्रकोपकै रूपमा देखिएको महाशाखाको भनाइ छ।  

सन् २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६८६, २०१४ मा ३५६ र २०१५ मा १३५ जनामा संक्रमण देखिएको थियो। २०१२ मा पुष्टि भएको एकसय ८३ घटनामा ४० प्रतिशत (७७ घटना) झापा जिल्लाका मात्रै थिए। झापा मेचीनगर र धुलाबारीमा ७७ जनामा देखिएको संक्रमणमा सबै वयस्क र त्यसमा पनि ६२ प्रतिशत पुरुष थिए।    
  
सन् २०१६ मा भने संक्रमण बढेर १५२७ पुग्यो। २०१७ मा झन बढेर २१११ जनामा संक्रमण देखियो। २०१८ मा केही घटेको संक्रमण २०१९ मा भने १७ हजार ९ सय ९२ जनामा फैलियो। २०१८ मा ८११ जनामा मात्रै संक्रमण देखिएको थियो। 

२०२० र २०२१ मा डेंगीले खासै फैलिने मौका पाएन। तर, सन् २०२२ मा भने हालसम्मकै उच्च संक्रमण देखियो। २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगीको संक्रमण भयो। २०२३ मा ५२ हजार ७ सय ९० जनामा संक्रमण देखिएकोमा २०२४ को साढे ६ महिनामा १६ सय ५७ जनामा देखिएको छ।  

हालसम्म एकसय ३६ को मृत्यु 
नेपालमा सन् २०१० मा पहिलोपटक डेंगीबाट पाँचजनाको मृत्यु भयो। त्यसको पाँच वर्षपछि २०१५ मा एकजना, २०१६ मा एकजना, २०१७ मा तीनजना, २०१८ मा तीनजना, २०१९ मा ६ जना, २०२० मा चारजना र २०२१ मा पाँचजनाले डेंगीको संक्रमणबाट ज्यान गुमाए। हालसम्मकै उच्च संक्रमण देखिएको वर्ष सन् २०२२ मा डेंगी संक्रमणबाट ८८ जनाको मृत्यु भयो। 

२०२३ मा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भयो। 

काठमाडौँमा डेंगीको प्रवेश   
२०६१ सालमा पहिलोपटक चितवन जिल्लामा एकजनामा देखिएको डेंगीको संक्रमण २०६६ सालमा पहिलोपटक काठमाडौँमा देखियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर घिमिरेका अनुसार २०६९÷०७० मा भने काठमाडौँमा डेंगी प्रकोपकै रूपमा फैलियो। अहिले उपत्यकाका तीन जिल्लासहित बागमती प्रदेश सबैभन्दा बढी जोखिममा छ। सात प्रदेशमध्ये बागमतीमा सबैभन्दा धेरै संक्रमित छन्। 

मधेसमा किन कम संक्रमण?
पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा अन्य प्रदेशभन्दा मधेस प्रदेशमा डेंगीको संक्रमण कम देखिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहाल पछिल्लो समय डेंगी संक्रमणको ‘ट्रेन्ड’ बदलिएको बताउँछन्।  

दाहालले भने, ‘पहिला त्यस्तो सोचाइ थियो, तराईमा बढी लामखुट्टे हुने, बढी कीटजन्य रोग हुने भन्ने थियो तर अहिले त्यो चेन्ज भएको छ। तराईमै धेरै भन्ने छैन। पहाडी, उच्च पहाडीमा धेरै छ। जहाँ सहरी बस्ती बढी छ, त्यस्तोमा चाहिँ डेंगी पनि बढी देखिएको छ।’

किन त्यस्तो भएको? भन्ने प्रश्नमा दाहाल भन्छन्, ‘एउटा अनुमान के भने तराईमा गर्मी भएको बेलामा असाध्यै गर्मी भयो, त्यो समयमा लामखुट्टे धेरै बढ्न सकेन। अब बर्खा सकिने बित्तिकै त्यहाँ बढ्न सक्छ। बर्खाको वरिपरि, अब बिस्तारै बढ्न सक्छ।’ 

यी तीन महिनामा सबैभन्दा धेरै संक्रमण  
डेंगी संक्रमणको ग्राफ हेर्दा सबैभन्दा बढी जोखिमको महिनाका रूपमा अगस्ट महिना देखिएको छ। त्यसपछि सेप्टेम्बर र अक्टोबर महिनामा संक्रमण फैलिएको छ। जोखिमका हिसाबले जुलाई महिना पनि जोखिममा छ। 

डेंगी संक्रमण नियन्त्रणका लागि तीनै तहको सरकारले मिलेर काम गरिरहेको शाखा प्रमुख दाहालले बताए। उनले भने, ‘डेंगी नियन्त्रण औषधि छिटेर मात्रै हुँदैन। यसको लागि वातावरणीय व्यवस्थापन गर्नुपर्‍यो, अथवा खोजी तथा नष्टको काम गर्नुपर्छ। डेंगीमा यो बाहेक अन्य उपाय खासै उपयुक्त छैन।’

डेंगीबाहेक कालाजार, औलोको हिसाबले जोखिम क्षेत्रमा सरकारले अहिले पनि औषधि छिट्ने, झुल वितरण गर्ने लगायतका काम गरिरहेको भन्दै दाहालले अहिले त्यस्ता जोखिमको क्षेत्र कम भएको जानकारी दिए। 

डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडामा पनि हुर्कन सक्ने डाक्टरहरू बताउँछन्। 

उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगी रोगका लक्षणहरू हुन्। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था गएर जाँच गर्न चिकित्सकहरूको सुझाव छ। 

लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको र त्यसका लागि पूरै शरीर ढाक्ने कपडा लगाउने, पानी राख्ने भाँडाहरूलाई छोपेर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने र कोठाभित्र बस्दा लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .