सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको विद्यार्थीको प्रदर्शन हिंसात्मक आन्दोलनमा रुपान्तरित हुँदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी स्वदेश फर्किन थालेका छन्।
मेडिकल लगायत विषयमा अध्ययन गर्न बंगलादेश गएका नेपाली विद्यार्थी त्यहाँको पछिल्लो प्रदर्शनले वातावरण अशान्त बनेपछि नेपाल फर्किन लागेका थालेका हुन। स्थलगत मार्ग हुँदै उनीहरू नेपाल आउन थालेका हुन।
भारतस्थित नेपाली दूतावासका अनुसार स्थलमार्ग हुँदै नेपालको पूर्वी नाकामार्फत उनीहरू नेपाल फर्किन थालेका हुन। दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बंगलादेशबाट स्थलमार्ग हुँदै फर्किन लागेका विद्यार्थीलाई सहजीकरण गरिदिन ढाकास्थित नेपाली दूतावासले अनुरोध गरेको जानकारी दिए।
कति नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका हुन भन्नेबारे भने एकिन जानकारी भने आफूहरुसँग नरहेको उनले बताए। ‘आज नेपाली विद्यार्थी फिर्ता आउन लागेको जानकारी ढाकाबाट आएको थियो,’ थापाले भने, ‘तर, कति विद्यार्थी आउन लागेको भन्ने जानकारी हामीलाई प्राप्त हुन सकेको छैन।’
सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालसम्म नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिएको थियो। ‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको थियो।
त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने तर्फ सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ हजार नेपाली विद्यार्थीले बंगलादेशमा मेडिकल, डेन्टल र इन्जिनियरिङ क्षेत्रमा अध्ययन गरिरहेका छन्।
Shares

प्रतिक्रिया