ad ad

समाज


सुनील पौडेलविरुद्ध चौथो मुद्दा : ७७ लाख बिगो, तेब्बर जरिवाना माग

सुनील पौडेलविरुद्ध चौथो मुद्दा : ७७ लाख बिगो, तेब्बर जरिवाना माग

नेपालखबर
साउन २, २०८१ बुधबार १९:४७, काठमाडौँ

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को मुद्दा दायर भएको छ। 

नेपालका सरकारी निकायमा बसेर सूचना प्रविधि क्षेत्रको खरिदमा घुस तथा कमिसनको जालो फैलाएको आरोप लागेका पौडेलविरुद्ध अहिले राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो। 

नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोलेको अभियोगमा विभागले पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ४४ वर्षीय पौडेलको सिंगापुरको बैंक खातामा ५८ हजार अमेरिकी डलर भेटिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा छानबिन गर्ने क्रममा  यो तथ्य फेला परेको थियो।

विभागले ५८ हजार अमेरिकी डलरको हिसाबले हुन आउने ७७ लाख ४५ हजार ९ सय रूपैयाँ बिगो कायम गरी त्यसको तेब्बर रकम जरिवाना गर्नुपर्ने मागदाबी अदालतमा गरेको छ। पौडेल दोषी ठहर भएमा उनीबाट २ करोड ३२ लाख ३७ हजार रूपैयाँ जरिवाना असुल गर्नुपर्नेछ।

अख्तियारको छानबिनअनुसार, पौडेलले नेपालका सार्वजनिक निकायमा खरिद हुने सूचना प्रविधिसम्बन्धी ठेक्कावापत् सिंगापुरको बैंक खातामा घुस र कमिसन जम्मा गर्न लगाउने गरेका थिए। 

अख्तियारले उनका विरूद्ध विशेष अदालतमा ३ वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। तीमध्ये एउटामा दोषी ठहर भइसकेका छन् भने २ वटा मुद्दा विचाराधीन छन्।

काठमाडौँ प्रहरीले उनीमाथि लिखतसम्बन्धी कसुर (किर्ते)मा पनि अनुसन्धान गरिरहेको छ। उनले करचुक्तासम्बन्धी कागजात नक्कली बनाएको फेला परेपछि अख्तियारले नै प्रहरीलाई थप अनुसन्धान गर्न पठाइदिएको हो।

पौडेलविरुद्ध अख्तियारले नै थप प्रकरणहरूमा अनुसन्धान गरिरहेकै छ।

सम्बन्धित खबरः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .