राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करारबाट जागिर सुरू गरेर त्यहीँको कार्यकारी निर्देशकसम्म भए। त्यसपछि उनले नेपाल टेलिकमको व्यवस्थापकीय नेतृत्व पाए। टेलिकमको प्रबन्ध निर्देशक रहेकै अवस्थामा उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परे।
अहिले उनी अख्तियारबाट दोस्रो भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। पहिलो मुद्दा उनी सूचना प्रविधि केन्द्रको नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोडभन्दा बढीको भ्रष्टाचार काण्डमा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन्।
अख्तियारले फेरि उनीमाथि दोस्रो मुद्दा दायर गरेको छ। यो मुद्दा उनको सम्पत्तिसम्बन्धी हो। यस्तो मुद्दामा उनले हालसम्म कमाएको सम्पत्ति, खर्च र बचतको हिसाब गरिन्छ। वैधानिक स्रोत देखाउन नसकेको सम्पत्ति भ्रष्टाचारबाट कमाएको मानिन्छ।
उनले १ करोड १९ लाख २४ हजार रूपैयाँबराबरको मात्र वैधानिक स्रोत खुलाउन सकेका छन्। २३ करोड ७५ लाख ४६ हजार रूपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत देखिएन। त्यसैले यो रकम उनले गैरकानुनी माध्यमबाट कमाएको निष्कर्षमा अख्तियार पुगेको छ। उनको सम्पत्ति विश्लेषण गर्दा ५ हजार रूपैयाँभन्दा कमको कारोबार गणना गरिएको छैन।
उनको सम्पत्ति र कारोबारको विश्लेषण गर्दा ठूलो कारोबार सिंगापुरमा देखिएको छ। उनले यता जुन कार्यालयको सरकारी पदमा काम गरिरहेका छन्, ठिक त्यही समयमा विदेशका कम्पनीसँग पनि उनको कारोबार देखिएको छ। सूचना प्रविधिसम्बन्धी उपकरण खरिदमा जोडिएका कम्पनीबाट ठूल्ठूलो रकम आफ्नै खातामा जम्मा गर्न लगाएको पाइएको छ। जुन कमिसन वा घुसबापत पाएको अख्तियारको ठहर छ।
उक्त रकम उनले भोगविलास तथा महँगा वस्तु खरिदमा कसरी खर्च गर्थे भन्ने पनि अख्तियारको अनुसन्धानले देखाएको छ।
उनले २०२२ अगस्ट ७ अर्थात् २०७९ साउन २२ गते सिंगापुरको चाङ्गी एयरपोर्टको टर्मिनलमा गरेको एउटा सपिङ हेर्ने हो भने उनको विलासी जीवनको स्तर मापन गर्न मिल्छ। त्यहाँ उनले टिफानी एन्ड कम्पनीको सेतो सुन (ह्वाइट गोल्ड) को गहना नै ३१ हजार ४ सय २ अमेरिकी डलरमा किनेका छन्।
त्यतिखेरको विनिमय दर प्रतिडलर १२७ रूपियाँका दरले अख्तियारले ३९ लाख ९० हजार ५ सय ४७ को हिसाब निकालेको छ। अहिलेको विनिमय दरमा हिसाब गर्दाचाहिँ ४१ लाख ८५ लाख रूपैयाँभन्दा बढी हुन्।
यसको बिल सम्बन्धित कम्पनीले उनको इमेलमा पठाएको थियो। डिजिटल फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा यो उनले नै गरेको कारोबार पुष्टि भएको छ।
पौडेलले भने उक्त कारोबारबारे अनभिज्ञता प्रकट गरेका छन्। आफ्नो नामसँग मिल्दोजुल्दो विवरण विदेशको बैंकमा कसरी देखियो र आफ्नो ईमेलमा कसरी आइपुग्यो भन्नेबारे केही पनि थाहा नभएको बयान उनले अख्तियारमा दिएका छन्।
टिफानी अमेरिकी ब्रान्ड हो, जसले संसारका धनाढ्यहरूका विलासी सोख पूरा गर्न गहना उत्पादन गर्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यका अनुसार ह्वाइट गोल्ड सुनकै विभिन्न प्रकारमध्ये एक हो। नेपालमा २४ क्यारेटको सुन प्रयोगमा रहेको छ भने ह्वाइट गोल्ड १८ क्यारेटको हुन्छ।
पश्चिमा देशमा ह्वाइट गोल्डको प्रयोग बढी प्रचलनमा रहे पनि नेपालमा कमै खरिदबिक्री हुन्छ।
नेपालमा सेतो धातुको रूपमा चाँदी प्रयोग हुने भएकाले पनि ह्वाइट गोल्डको माग खासै नहुने उनी बताउँछन्।
उनी भन्छन्, ‘ह्वाइट गोल्डको छिटपुट मात्रै माग हुने गरेको छ। २४ क्यारेटको सुनको मूल्य १ लाख मान्दा ह्वाइट गोल्डको ७५ हजार अर्थात् तीन चौथाई हुन्छ।’
Shares
प्रतिक्रिया