ad ad

समाज


सेवा अवधि नपुग्दै बिदा हुँदैछन् प्रहरीका ३ एआईजी र ९ डीआईजी

भदौमा १० एसएसपी एकसाथ बिदा हुँदै
सेवा अवधि नपुग्दै बिदा हुँदैछन् प्रहरीका ३ एआईजी र ९ डीआईजी

माथिबाट क्रमशः एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, भीम ढकाल र डीआईजीहरू भरत बोहरा, किरण राणा, केदार ढकाल, कृष्णहरि शर्मा पोखरेल, यज्ञविनोद पोखरेल, अर्जुन चन्द ठकुरी, विष्णु केसी, राजेशनाथ बास्तोला र रामदत्त जोशी।


उजिर कार्की
साउन १, २०८१ मंगलबार २०:१५, काठमाडौँ

नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवामा रहन नपाउने भएका हुन्। 

महानिरीक्षक कुँवर भने अहिलेकै व्यवस्थामा आगामी चैत ५ गतेसम्म सेवामा रहनेछन्। तर उनकै ब्याचका एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र एआईजी दीपक थापाको ब्याचका भीमप्रसाद ढकाल उनीभन्दा पहिल्यै अवकाश हुने भएका हुन्। 

उनीहरु तीनैजना एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश हुन लागेका हुन्। प्रहरीमा अवकाशका लागि तीनवटा नियम छन्। ३० वर्षे सेवाअवधि, उमेर हद र पदावधिमध्ये जुन पहिले आउँछ, सोही कारण अवकाश हुने व्यवस्था छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख समेत रहेका एआईजी श्यामलाल ज्ञवाली आगामी भदौ २६ गते बिदा हुनेछन्। उनी हालका महानिरीक्षक कुँवरसँगै २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएका हुन्। तर भदौ २६ गते ५६ वर्ष पुग्ने भएपछि उनी अनिवार्य अवकाश हुनेछन्। 

एआईजी किरण बज्राचार्य पनि आगामी पुस १६ गते नै अवकाश हुनेछिन्। उनी पनि उमेर हदकै कारण सेवाअवधि सकिनु तीन महिनापहिले नै बिदा हुनु पर्नेछ। बज्राचार्य कार्य विभागमा कार्यरत छिन्। 

बज्राचार्यभन्दा ५ महिनापछि भर्ना भएका एआईजी भीमप्रसाद ढकाल त्यसअघि नै अवकाश भइसक्नेछन्। ढकाल मंसिर २८ गते घर जानेछन्। ढकाल मानव स्रोत विकास विभागमा कार्यरत छन्। उनी केही महिनापहिले मात्रै एआईजी भएका हुन्। तर बढुवा हुनासाथ उनले प्रहरीको महत्वपूर्ण विभागमा जिम्मेवारी पाएका थिए। 

३० वर्षे सेवाअवधि २०८२ भदौमा मात्रै पूरा हुने भए पनि ढकालले ९ महिना अहिले नै जागिरबाट अलग हुनु पर्ने भएको हो। 

नेपाल प्रहरीमा अवकाश हुने अवधि संशोधन गर्न गृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ। तर गृहमन्त्री परिवर्तन भएसँगै तत्काल संशोधन हुने र उनीहरुको जागिर अवधि थपिने सम्भावना कम बनेको छ। यस्तै यी कुराहरु प्रहरी ऐनमै व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिइसकेकाले पनि तत्काल प्रक्रिया टुंगिने सम्भावना क्षीण बनेको हो। 

उनीहरुकै ब्याचका एआईजीहरु सन्दीप भण्डारी, मीरा चौधरी र उमेशराज जोशी अवकाश भइसकेका छन्।

तीन प्रदेशका प्रहरी प्रमुखसहित ९ डीआईजी पनि घर जाँदै 
यस्तै तीनवटा प्रदेशका प्रहरी प्रमुखसहित ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि सेवा अवधि पूरा नहुँदै घर फर्किने भएका छन्। उनीहरु पनि डीआईजीको ५६ वर्षे उमेर हदकै कारण अवकाश हुन लागेका हुन्। उनीहरु पनि प्रहरी महानिरीक्षककै ब्याची हुन्। 

जसमा मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल, बागमती प्रदेशका प्रहरी प्रमुख विष्णुकुमार केसी र कर्णाली प्रदेशका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी छन्।

मधेशमा कार्यरत डीआईजी यज्ञविनोद पोखरेल असोज १४ गते नै अवकाश हुने भएका छन्। कर्णाली प्रदेशका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी पुस १ गते अवकाश हुनेछन्। 

उनीहरु ३० वर्षे सेवा अवधि पूरा नहुँदै विदा भए पनि बागमती प्रदेश प्रमुख विष्णुकुमार केसी भने ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुने भएका हुन्। 

२०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका केसी पछि प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए। उनी डीआईजीसम्म यही ब्याचसँगै बढुवा हुँदै आएपछि प्रहरीमा भर्ना भने पहिलेकै हो। 

३० वर्षे सेवा अवधिका कारण उनी भदौ १६ गते अवकाश हुनेछन्। 

अरु ६ डीआईजी भने उमेर हदकै कारण अवकाश हुन लागेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी रामदत्त जोशी कात्तिक १८ गते बिदा हुनेछन्। 

उनी त्यसअघि नै एआईजीमा बढुवा हुने सम्भावना छ। हाल नेपाल प्रहरीमा एक जना एआईजीको दरबन्दी रिक्त छ। जुन एआईजी उमेशराज जोशी असार १९ गते अवकाश भएपछि रिक्त भएको हो। डीआईजीहरुको वरीयतामा जोशी अगाडि छन्। 

एआईजी भए पनि उनी कात्तिक १८ मै घर फर्किने छन्। सीआईबीमा कार्यरत डीआईजी किरण राणा कात्तिक १६ गते, केदार ढकाल मंसिर २२ गते र भरतबहादुर बोहरा पुस १४ गते अवकाश हुनेछन्। उनीहरु सबै ५६ वर्ष पूरा भएका कारण अनिवार्य अवकाश हुन लागेका हुन्। 

यस्तै राजेशनाथ बास्तोला कात्तिक ११ गते र कृष्णहरि शर्मा पोखरेल भदौ १५ गते अवकाश हुनेछन्। बास्तोलाको ३० वर्ष सेवा अवधि पूरा हुन एक वर्षभन्दा बढी समय बाँकी छ। उनी २०५२ कात्तिक २७ गते भर्ना भएका हुन्। शर्माको पनि सेवा अवधि चैत ५ गते मात्रै पूरा हुन्छ। तर ५६ वर्षे उमेर हदले उनीहरु पहिल्यै घर जान लागेका हुन्।

डेढ महिनापछि १० एसएसपी एकसाथ बिदा हुँदै
प्रहरी महानिरीक्षकसँगै प्रहरी सेवा प्रवेश गरेका दुई एसएसपीले ३० वर्ष जागिर खान नपाउँदा अरु १० एसएसपी भने एकसाथ बिदा हुन लागेका छन्। 

आईजीपी कुँवरका ब्याची एसएसपी भोलाबहादुर रावल माघ १२ गते नै अवकाश हुनेछन्। नेपाल प्रहरीमा दुईजना डीआईजी खाली हुन लागेकाले त्यसअघि नै उनी डीआईजीमा बढुवा हुने सम्भावना छ। बढुवा भए पनि उनको सेवा अवधि भने लम्बिने छैन। 

यस्तै एसएसपी गणेश चन्द पनि मंसिर २५ गते नै अवकाश हुनेछन्। 

हालका एसएसपीमध्ये १० जना एकसाथ आगामी भदौ १६ गते ३० वर्षे सेवा अवधि पूरा गरेर बिदा हुँदैछन्। 

२०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएर पछि प्रहरी निरीक्षकमा नाम निकालेका एसएसपीहरु यो मितिमा अवकाश हुन लागेका हुन्। 

एसएसपीहरु जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, रेवती ढकाल, किसन सिंह थापा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर वली र चन्द्रदेव राई एकसाथ भदौ १६ गते अवकाश हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .