ad ad

समाज


त्रिशूली बस दुर्घटना : नारायणीमा भेटिए १३ वटा शव, ५ वटाको सनाखत हुन बाँकी

त्रिशूली बस दुर्घटना : नारायणीमा भेटिए १३ वटा शव, ५ वटाको सनाखत हुन बाँकी

नेपालखबर
असार ३१, २०८१ सोमबार १५:१७, काठमाडौँ

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन्।

खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनापछि नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ। ती शव पनि नेपाल प्रहरीले आफन्तसँग सम्पर्क गरेर सनाखत गर्ने प्रयास गरिरहेको छ।

शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई यात्रुसहित पहिरोले त्रिशूली नदीमा बगाएको थियो।

एन्जल डिलक्समा टिकट काटेका २७ जना भएपनि सम्पर्कमा आएका आफन्तका अनुसार थप ११ जना पनि रहेको खुलेको छ। उक्त बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, गौरतर्फ जाँदै गरेको गणपती डिलक्समा टिकट चलानमा २४ जना देखिएको र थप तीन जनाका आफन्त पनि सम्पर्कमा आएको गरी २७ जना रहेको खुलेको छ।

दुईवटा बसमा ६५ जना सवार रहेकोमा गौरतर्फ जाँदै गरेको गणपती बसका ३ जना बच्न सफल भएका छन्।

रौतहटका नन्दन दास, जुगेश्वर राय र सरोजकुमार गुप्ता दुर्घटनामा परे पनि बच्न सफल भएका हुन्। बाँकी ६२ जनाको सोहीदिनबाट खोजिकार्य भइरहेको छ।

प्रहरीले दुर्घटनास्थलभन्दा तल नदी किनारमा अहिलेसम्म १३ वटा शव फेला पारेको छ। ती मध्ये ८ जनाको सनाखत भइसकेको छ।

गणपती डिलक्समा सवार भारतीय नागरिक ऋषिपल साहको शव भरतपुर महानगरपािलका २८ स्थित गोलाघाटमा फेला परेको थियो। दुर्घटनाको भोलिपल्ट बिहान फेला परेको शवको सनाखत साहका दाजुले गरेका थिए।

त्यसैदिन एन्जल डिलक्समा रहेका चितवनका विकास परियारको शव गैडाकोट नगरपालिका ७ स्थित गैरीमा नारायणी नदी किनारमा फेला परेको थियो।

असार ३० गते फेला परेका थप ६ वटा शवको पनि सनाखत भइसकेको छ।

गणपती डिलक्समा सवार सर्लाहीको बरथहवा नगरपालिका ३ का रमित कुसर माझीको शव पनि गैडाकोटको गैरीस्थित किनारमै फेला परेको थियो।

भारतीय नागरिक जय प्रकाश ठाकुर र सजाद अन्सारीको शव छुट्टा छुट्टै स्थानमा फेला परेको छ। ठाकुरको शव भरतपुरको सालबासस्थित किनारमा र अन्सारीको शव गैडाकोटको गैरीस्थित नारायणी किनारमा भेटिएको हो।

भरतपुरकै सुदिप बिक, रौतहटका फिरोज राहुप मिया र बारका परमानन्द पण्डितको शव आइतबार त्रिवेणी ब्यारेजमा फेला परेको थियो।

त्रिवेणी ब्यारेजमै सोमबार थप तीनवटा शव फेला परेका छन्। तर सनाखत हुन सकेको छैन। भरतपुरको सिसवारस्थित किनारमा र मध्यविन्दु नगरपालिका २ भुताहामा फेला परेको शव पनि सनाखत हुन बाँकी छ।  

सोमबार पनि तीनवटै सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .