समाज


जाजरकोटमा गिद्धको नयाँ प्रजाति भेटियो

जाजरकोटमा गिद्धको नयाँ प्रजाति भेटियो

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ८:०,

प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ।

समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो। जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जंगलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ।

अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए। राजगिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रुपमा लिने गरेको उनले जानकारी दिए।

यसअघि जाजरकोटलाई बासस्थान बनाएका सेतो, हाडफोर, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन्। पछिल्लो समयमा सिमलको रुख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पक्षी विज्ञको भनाइ छ। गिद्ध संरक्षणका लागि आहारको व्यवस्थापन र सिमलका रुखको संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ। यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रियस्तरको कार्यक्रम बन्न जरुरी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

उनले गाउँपालिकास्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीयस्तरबाट नै महत्वसाथ जाजरकोटमा पाइएका, पाइन सक्ने जीवजन्तु, चराको खोजी र संरक्षणमा पहलको खाँचो रहेको बताए। यहाँ विश्वकै दुर्लभ जनावर रेडपाण्डा, दुर्लभ पक्षी चिरकालिजलगायत अन्य जीवजन्तु पाइएका छन्। स्थानीय जनता, सरकार र सरोकारवालाले जाजरकोटको जैविक विविधता, यहाँ भेटिएका विश्वकै दुर्लभ पक्षी, जनावर बचाउन तथा यसको वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पक्षी, जनावरको खोजी तथा संरक्षणकर्ता सिंहले बताए। उनले सबैको चासो हुने हो भने जाजरकोट महत्वपूर्ण दुर्लभ पक्षी तथा जनावरको पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।

लोपोन्मुख पक्षी तथा जनावरको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाइएको छ। वन तथा वातावरण मन्त्रालयले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन कार्य पूरा गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad