ad ad

समाज


मेघालयमा मारिने नेपालीको घर ठेगाना पत्ता लगाउन सकिएन : इलाम प्रशासन

मेघालयमा मारिने नेपालीको घर ठेगाना पत्ता लगाउन सकिएन : इलाम प्रशासन

जिल्ला प्रशासन कार्यालय, इलाम र इन्सेटमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) कल्पना श्रेष्ठ (तस्बिर स्रोत : वेबसाइट)


नेपालखबर
असार २३, २०८१ आइतबार १६:१४, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय, इलामले मेघालयमा मारिने नेपालीको घर ठेगाना पत्ता लगाउन नसकिएको जनाएको छ।

भारतको उत्तरपूर्वी राज्य मेघालयमा नेपालीसहित ४ जनाको शव घाँटी रेटिएको अवस्थामा भेटिएको घटनाबारे थप तथ्य बाहिर आउन सकेको छैन।

मारिनेमध्ये एकजना रवि राईको घर इलाम भएको भनिए पनि अहिलेसम्म उनको घर ठेगाना पत्ता लगाउन नसकिएको इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नेपालखबरलाई जानकारी दिइन्।

‘हामीले सबै सुरक्षा संयन्त्रमार्फत घर ठेगाना पत्ता लगाउने प्रयास गरिरहेका छौँ। अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त गर्न सकेका छैनौँ,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘घटनाका बारेमा विस्तृत जानकारी नहुँदा र परिवारका मान्छेहरू सम्पर्कमा नआउँदा थप विवरण संकलन गर्न समस्या भइरहेको छ।’

घटनास्थल निकै दुर्गम स्थानमा रहेको र प्रहरीले गोप्य तरिकाले अनुसन्धान गरिरहेको कारण पनि थप विवरण प्राप्त हुन समय लागिरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एवं नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

के भन्छ स्थानीय प्रहरी?
मेघालयको पूर्वी जैन्तिया हिल्स जिल्लामा पर्ने उम्प्लेङ बजार पछाडि शनिबार चार शव फेला परेका थिए। त्यहाँको प्रहरी उपरीक्षकको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, बिहान साढे ७ बजे टेलफोनबाट शव फेला परेको जानकारी प्राप्त भएको थियो।

तत्कालै घटनास्थलमा पुगेका अधिकारी र कर्मचारीले हात डोरीले बाँधिएको र शरीरमा धारिलो वस्तुले काटिएका धेरै चोटपटक लागेको अवस्थामा चार जनाको शव फेला पारेका थिए। उनीहरूको हत्या भएको देखिएकोले क्राइम सिन युनिट, मोबाइल फोरेन्सिक र मजिस्ट्रेटको संयुक्त प्रयासमा आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाइएको थियो। त्यस क्रममा घटनास्थलबाट प्रमाण संकलन र स्थानीयबाट जानकारी लिने काम गरिएको थियो।

त्यसपछि पोस्टमार्टमका लागि सबै औपचारिकता पूरा गरी शवलाई सिभिल अस्पताल खिल्हरियात लगिएको थियो। हालसम्म मृतकमध्ये एक जनाको पहिचान रवि राई (२३ वर्ष), इलाम, नेपाल भनेर गरिएको छ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रभावकारी अनुसन्धानको लागि अनुसन्धान टोलीलाई सघाउन विशेष टोली गठन गरिएको एसपी कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

त्यहाँका अधिकारीहरूले मृतकमध्ये तीन जना नेपाली रहेको र एक जना स्थानीय आदिवासी समुदायका व्यक्ति रहेको प्रारम्भिक जानकारी दिएका थिए। त्यसपछि अनुसन्धानबाट प्राप्त कुनै तथ्य प्रहरीले बाहिर ल्याएको छैन।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एवं नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले प्रहरी र त्यहाँ रहेका अन्य नेपालीबाट घटनाबारे नियमित जानकारी लिइरहेको बताएका छन्।

पूर्वी जैन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकको कार्यायले जारी गरेको विज्ञप्ति यसप्रकार छ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .