ad ad

समाज


कटहरिया नगरपालिका प्रमुख, उपप्रमुख र प्रशासककीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कटहरिया नगरपालिका प्रमुख, उपप्रमुख र प्रशासककीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार २०, २०८१ बिहिबार १८:२१, काठमाडौँ

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेत ११ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

कटहरिया नगरपालिका वडा नं. २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/७९ मा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी योजना सम्झौता गरी कार्य गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्ग मिटर रहेकोमा फिल्डमा ७२०.८१ वर्ग मिटर मात्र रहेको देखिएको छ।

फिल्डमा भए गरेको कार्य भन्दा बढी परिमाण ४७३.६० वर्ग मिटरको नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनुगमन समितिबाट सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन दिइएको पाइएको छ।

सोही सिफारिसको आधारमा कम काम भएकोमा बढी काम भएको देखाई १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई/दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ।

अख्तियारले सो कार्यमा संलग्न नगर प्रमुख अजय प्रकाश, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह र इन्जिनियर राजेश कुमार साह, उपप्रमुख रीता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलम, विरुद्ध कैद र जरिवाना सजाय हुन मागदाबी लिएको छ।

यस्तै, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साह विरुद्धसमेत बिगो १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .