ad ad

राजनीति


एसईईको नतिजामाथि संसदमा बहस : ५० वर्षअघिको शिक्षानीतिको ढर्रा कहिले तोड्ने?

एसईईको नतिजामाथि संसदमा बहस : ५० वर्षअघिको शिक्षानीतिको ढर्रा कहिले तोड्ने?

नेपालखबर
असार १४, २०८१ शुक्रबार १५:१६, काठमाडौँ

सांसदहरूले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन्।

सांसदहरूले धेरै विद्यार्थीहरू अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन्।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन्। उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताइन्। उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन्।

उनले भनिन्,‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडि ठूलो प्रश्नचिन्ह खडा गरेको छ। ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो। शिक्षा प्रणाली नै असफल हुनु हो। र सरकार असफल हुनु हो। म यसरी बुझ्छु। शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो होला? मनोविज्ञान कस्तो होला?’

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे। उनले शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको बताए। उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए।

उनले भने, ‘५२ प्रतिशत भन्दा बढी ग्रेडिङभित्र परेन। ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो? सरकारलाई २ लाख ४२ हजार ३१३ जना मानिस तिमी अयोग्य हौ। तिमी पढेर खान सक्दैनौ। उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ? सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ? शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन्।

उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने? भनि प्रश्न समेत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .