ad ad

समाज


हुन्डी कारोबार गर्ने कम्पनीमा सेनाका पूर्वरथी चन्द

अवैध सुन र मानव तस्करीको रकम भुक्तानीमा डिजिटल वालेट
हुन्डी कारोबार गर्ने कम्पनीमा सेनाका पूर्वरथी चन्द

नेपालखबर
असार २, २०८१ आइतबार २३:९, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा पहिलो चरणको अनुसन्धान गर्दा प्रहरी अधिकारी नै विवादित भएका थिए। सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले पनि उक्त अनुसन्धान फितलो रहेको निष्कर्ष निकाल्दै सम्बद्ध प्रहरी अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।

अहिले सीआईबीमा नयाँ नेतृत्व आएपछि दोस्रो चरणको अनुसन्धान अघि बढेको हो। हाल नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली सीआईबीका निर्देशक छन्। उनी आएपछि सुन तस्करीका फाइल पुनः खोलिएका छन् र यस क्रममा नयाँनयाँ रोचक तथ्य फेला परेका छन्।

अनुसन्धानका क्रममा, सुन तस्करहरूले नेपालको रकम विदेश पठाउन सजिलो पे, पे वेललगायत डिजिटल वालेट तथा रेमिट्यान्स कम्पनीहरूको प्रयोग गरेको पाइयो। ती कम्पनीको कारोबार केलाउँदा थप डरलाग्दा तथ्यहरू भेटिएका छन्। उनीहरूले नेपाल राष्ट्र बैंकको कमजोर नियमनको फाइदा उठाएर अन्तरदेशीय गैरकानुनी धन्दाको मुख्य कारोबार च्यानलका रूपमा काम गरेको देखिन्छ।

सुन तस्करी, मानव तस्करी, क्रिप्टो करेन्सीलगायतका गैरकानुनी धन्दाको आर्थिक कारोबार यिनै डिजिटल वालेट कम्पनीहरूमार्फत गरेको देखिएपछि राष्ट्र बैंकले तिनका सबै खाता एवं कारोबार रोक्का राखेको छ। ‘पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको’ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख थियो।

सीआईबीको अनुरोधमा राष्ट्र बैंकले अनुसन्धान गरी प्रतिवेदन समेत पठाइसकेको छ। अब प्रहरीले राष्ट्र बैंकको त्यही प्रतिवेदनका आधारमा अभियोजन प्रक्रिया अघि बढाउँदै छ।

सीआईबीका एक अधिकारीका अनुसार नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द पनि हुन्डी कारोबार गर्ने कम्पनीसँग जोडिएका छन्। उनी सजिलो पे पेमेन्ट सर्भिस प्रालिका मुख्य लगानीकर्तामध्ये एक रहेको राष्ट्र बैंकको प्रवेदनले देखाएको छ। चन्दले उक्त कम्पनी स्थापना र सञ्चालनका लागि २० लाख रूपैयाँ लगानी गरेको पुष्टि भएको छ। मुख्य लगानीकर्तामध्येका एक भएकाले उनी सञ्चालक समितिमा पनि रहँदै आएका छन्। त्यसैले उनीविरुद्ध पनि अभियोजन गरी मुद्दा चलाउने तयारी भइरहेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताएका छन्।

उनी सुन तस्करी वा मानव तस्करीमा प्रत्यक्ष जोडिएका नभए पनि त्यस्ता तस्करीजन्य धन्दालाई सघाउने कम्पनीमा जोडिएकाले केकस्ता अभियोगमा मुद्दा चलाउने भन्नेचाहिँ अध्ययनकै चरणमा रहेको ती अधिकृतले बताए। चन्द २०६८ मा उपरथीबाट रथीमा बढुवा भएका थिए। उनले २०७० मा सैन्य सेवाबाट अवकाश पाएका थिए। 

राष्ट्र बैंकका अनुसार, २०७७ चैत १७ गते सजिलो पेले भुक्तानी सेवा प्रदायक कम्पनीका रूपमा इजाजत प्राप्त गरेको थियो। काठमाडौँको बालुवाटारमा मुख्य कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक करोड रूपैयाँ छ। यस हिसाबले चन्दको २० प्रतिशत सेयर रहेको देखिन्छ। 

सीआईबीले पे वेल र सजिलो पेका कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्ज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन्। तिमिल्सिना पेवेलका अध्यक्ष हुन्।

चिनियाँ गिरोहले हङकङबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेक सु) मा लुकाएर ल्याएको ६० किलो ७ सय ग्राम सुन राजस्व अनुसन्धान विभागले गत वर्ष साउन ३ गते विमानस्थलबाहिरबाट बरामद गरेको थियो। यस प्रकरणमा सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर भदौ ३१ गते २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .