ad ad

समाज


दुबईमा रुसी महिलासँग ‘नेल आर्ट’ सिकिन्, काठमाडौँ फर्केर खोलिन् आफ्नै ‘नेल्स एकेडेमिया’

दुबईमा रुसी महिलासँग ‘नेल आर्ट’ सिकिन्, काठमाडौँ फर्केर खोलिन् आफ्नै ‘नेल्स एकेडेमिया’

सीप नसिकी विदेश जाँदा नेपालीहरूले दु:ख पाइरहेको मञ्जिता बताउँछिन्। तस्बिरः सरोज नेपाल


राधिका अधिकारी
जेठ २५, २०८१ शुक्रबार ७:४३, काठमाडौँ

करिब १२ वर्षअघिको कुरा हो, काठमाडौँ जोरपाटीकी मञ्जिता तामाङ नेल टेक्निसियनका रुपमा विदेश जान चाहन्थिन्। उनले काठमाडौँका थुप्रै मेनपावर धाइन्। त्यसबेला उनलाई सोधियो, ‘नेल टेक्निसियन भनेको इलेक्ट्रिसियन हो?’ 

त्यो समय नेपालमा नेल आर्टका बारेमा बुझाउनै मुस्किल थियो। नेपालमा नेल आर्टको बजार बिस्तार भएकै थिएन। केही सैलुन सञ्चालकहरूले विदेश जाने मानिसलाई लक्षित गरी १–२ ठाउँमा नेल आर्टको ट्रेनिङ दिन्थे। विश्वका अन्य देशमा भने नेल आर्टमा राम्रो सम्भावना देखेकी मञ्जिताले त्यहीँ गएर नेल आर्टको ट्रेनिङ लिइन्। त्यसपछि विदेश जान खोज्दा नेपालीलाई विदेश पठाउँदै आएकाहरूलाई नै नेल टेक्निसियनका बारेमा थाहा थिएन। 

थाहा त आफैँलाई पनि कहाँ थियो र!

उनलाई डान्स सिकाउने गुरुआमा बन्नु थियो। काठमाडौँको जोरपाटीमा जन्मिएकी उनका आमाबुवा गलैँचा कारखानामा काम गर्थे। ५ छोराछोरीको सपना र शिक्षाका लागि मनग्गे खर्च गर्न सक्ने उनीहरूको अवस्था थिएन। कान्छी बहिनी मञ्जिताको सपनाका लागि उनका ४ दाजुदिदीले भरथेग गरे। जोरपाटीकै एकता जेम्स स्कुलमा पढेकी मञ्जिताको नृत्यमा सोख देखेर उनकी आमाले डान्स क्लास भर्ना गरिदिएकी थिइन्। 

पढाइमा ठिकै तर अतिरिक्त क्रियाकलापमा उत्कृष्ट मञ्जिता एसएलसी पास गर्दासम्म अरुलाई डान्स सिकाउन सक्ने भैसकेकी थिइन्। परिवारको आर्थिक अवस्थाका कारण दाजुदिदीले सानैबाट संघर्ष गरेको देखेकी उनी पनि स्वावलम्बी बन्न चाहन्थिन्। उनले जोरपाटीको बराल पेट्रोलपम्पनजिकै ‘नव नाट्य’ स्कुल खोलिन्। केही स्कुलमा पनि डान्स शिक्षकका रुपमा काम गरिन्। 

डान्स स्कुल खोल्दा उनलाई केही ऋण लागेको थियो। तर, सपना देखेको जस्तो भएन। स्कुलबाट पाएको तलब डान्स स्कुलको भाडा तिर्न ठिक्क भयो। उनले खोलेको डान्स स्कुलमा विद्यार्थी आएनन्। त्यसपछि उनले ऋण तिर्ने सम्भावनाको खोजी गरिन्। त्यतिबेला उनकी दिदी जोरपाटीमै पार्लर सञ्चालन गर्थिन्। त्यहीँ उनले पार्लरका केही काम सिकिन्। विदेश जाने सोच बनाइन्। 

त्यसबेला दुबईमा नेल टेक्निसियनको राम्रो सम्भावना थियो। नेपालमै उनले एक पार्लरमा गएर नेल टेक्निसियनको तालिम लिइन्। त्यसपछि दुबई गएकी मञ्जिताले त्यहाँ अवस्था फरक पाइन्। नेपालमा हरेक काम थोरथोरै जान्नेलाई राम्रो मानिन्थ्यो। त्यहाँ त्यस्तो थिएन। उनले सिकेको क्षमताले त्यहाँ काम पाउन मुस्किल थियो। कामको लागि लामो समय भौँतारिनु पर्‍यो। 

उनलाई जसरी पनि दुबईमा टिकेर काम गर्नु थियो। उनले नेपालबाट पुनः पैसा मगाइन्। एक रुसी महिलासँग नेल टेक्निसियनको तालिम लिइन्। काम र कक्षा दुवै सँगसँगै चलिरहेको थियो। उनलाई नेल टेक्निसियनमा दक्ष हुनु थियो। मञ्जिता सुनाउँछिन्, ‘म रातभरि अभ्यास गर्थेँ।’

६ महिनाको कोर्स पुरा गरेपछि दुबईकै एक सैलुनमा काम गर्न थालिन्। यो कम्पनीमा धेरै भियतनामी महिला कामदार थिए। उनीहरू काममा दक्ष तर भाषामा कमजोर थिए। अंग्रेजी स्कुलमा पढेकी मञ्जिताको भने भाषा राम्रो थियो। जसकारण काम पाइन्। यो कम्पनीमा उनको २ वर्षे सम्झौता थियो। उनलाई २ वर्ष बिताउन मुस्किल भयो। कारण कम्पनीका मालिक मानसिक यातना दिने खालका थिए। 

उक्त सैलुनसँगको २ वर्षे सम्झौता सकिँदासम्म उनले सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल बलियो बनाइसकेकी थिइन्। त्यही प्रोफाइल हेरेर दुबईको मादी इन्टरनेसनल ओर्ले ब्रान्डले उनलाई ट्रेनरका रुपमा कामको अफर गर्‍यो। 

मञ्जिता भन्छिन्, ‘त्यसपछि मात्रै मलाई नेल टेक्निसियन ट्रेनरका रुपमा काम गर्न सक्छु भन्ने आत्मविश्वास पलायो।’ 

ओर्ले ब्रान्डमा टेक्निसियनका रुपमा काम सुरु गरेपछि उनले दुबईका अन्य सहरमा पनि जानु पर्थ्यो। मञ्जिताको करिअरका लागि यो टर्निङ पोइन्ट हुन सक्थ्यो तर उनको करिअरमा अर्को पटक ब्रेक लाग्यो। कारण उनीसँग ड्राइभिङ लाइसेन्स थिएन। 

त्यसपछि कम्पनीले उनलाई साउदी ब्रान्डमा पठाउने बतायो। यो सन् २०१७ को कुरा हो। मञ्जितालाई साउदी जान मन लागेन।

‘राम्रो अवसर आउँदा साउदी जाउँ कि भन्ने लागेको थियो। तर, त्यहाँ गएर भिज्न समय लाग्थ्यो। मैले नजाने, ड्राइभिङ लाइसेन्स निकालेर पुनः अप्लाई गर्ने निधो गरेँ,’ मञ्जिता भन्छिन्। 

सन् २०१९ मा जेलिस हार्मोनीबाट उनले नेल ट्रेनरका रुपमा पुनः करिअर सुरु गरिन्। त्यसपछि उनले सन् २०२३ को अन्त्यसम्मै त्यहाँका विभिन्न कम्पनीमा काम गरिन्। सुन्दर भविष्य खोज्दै नेपाली महिलाको ठूलो संख्या दुबई पुगेको थियो। तर, उनीहरू सीपमा दक्षता हासिल नगरी पुगेका कारण विभिन्न समस्यासँग जुधिरहेका थिए। अहिले पनि त्यो संख्या ठूलो छ। सीप सिकेर गएका महिलाले दुबईमा राम्रो आम्दानी गरेका छन्। यो सबै हेरेपछि मञ्जिताले नेपाल फर्किने र विदेश जाने बाटो खोजिरहेका महिलालाई आफूले जानेको सीप सिकाउने निधो गरिन्। 

गत महिना मात्रै नेपाल फर्किएकी मञ्जिताले काठमाडौँको आलोकनगरमा नेल्स एकेडेमिया सुरु गरेकी छिन्। उनले दुबईकै भिक्टोरिया भिमको उत्पादन प्रयोग गरेर सीप सिकाउने बताइन्। 

भन्छिन्, ‘काम सिक्दा एउटा प्रडक्ट र काम गर्दा अर्को प्रडक्ट हुँदा काममा पूर्णता आउँदैन। त्यसैले हामीले जहाँ गएर जुन ब्रान्डको प्रडक्टमा काम गर्नु पर्ने हो त्यही ब्रान्डमा अभ्यास गराउँछौँ।’ 

मञ्जिताले नेल्स एकेडेमिया सुरु गरेको धेरै भएको छैन। तर, विदेश जाने सपना बोकेर सीप सिक्न आउने महिलाको ठूलो संख्या छ। स्वावलम्बी भएर बाँच्न चाहने महिलाको संख्या देखेर मञ्जितालाई खुसी लाग्छ। तर, उनीहरूसँग सिक्नका लागि प्रशस्त समय छैन।

‘हामीलाई दिनको १–२ घण्टा सिकाइदिनु न भन्न आउने धेरै हुनुहुन्छ,’ मञ्जिता भन्छिन्, ‘यसरी कोर्स पूरा गर्न र काममा दक्षता प्रदान गर्न सकिँदैन। नेपाली महिलाहरू सीपमा दक्षता हासिल नगरी विदेश गइरहेका छन्।’

के हो त नेल टेक्निसियनको काम?

मञ्जिता भन्छिन्, ‘एक नेल टेक्निसियनले ग्राहकको नङलाई आकर्षक बनाउन सक्छ। नेल टेक्निसियनसँग धेरै प्रकारका डिजाइनहरूको बारेमा ज्ञान हुनुपर्छ, जसले गर्दा उसले आफ्ना ग्राहकहरूलाई खुसी पार्न सक्छ।’

नेल टेक्निसियनको तालिमले महिलालाई आत्मविश्वासी बनाउने मञ्जिताको दाबी छ। भन्छिन्, ‘नेपालमै पनि नेल आर्टको ट्रेन्ड बढ्दो छ। दक्षता हासिल गरेर विदेश गएको खण्डमा विदेशमा काम पाउन सहज र कमाइ राम्रो छ।’ 

राम्रोसँग नेल टेक्निसियनको तालिम लिएको खण्डमा नेपालमै पनि कामको अभाव नहुने मञ्जिता बताउँछिन्। उनी भन्छिन्, ‘विदेशमा कुनै पनि युनिसेक्स सैलुन वा ब्युटी पार्लरमा जाने हो भने त्यहाँ नेल टेक्निसियनहरूको धेरै माग छ। राम्रो तलबमा जागिर पाउनु हुन्छ। प्रारम्भिक अनुभव बढ्दै जाँदा कमाइ पनि बढ्दै जान्छ।’

विदेश जान चाहने महिलाहरूलाई सीपमा दक्षता हासिल गरेर मात्रै जान मञ्जिताको सुझाव छ। भन्छिन्, ‘सीपमा दक्षता नहुँदा दुबईमा आफैले ६ महिनासम्म पाएको दुःख, १० वर्ष काम गर्दा अरु नेपाली महिलाले पाएको दुःखको अनुभवले मैले यो भन्ने आँट गरेकी हुँ।’

नेल्स एकेडिमियामा उनले अहिले ९० दिनको कोर्स सञ्चालन गरेकी छन्। भन्छिन्, ‘यो ९० दिन चाहिँ प्रशिक्षार्थीले पूर्ण समय दिनुपर्छ।’

अहिले पनि मञ्जिता भिक्टोरिया भीमको इन्टरनेसनल ट्रेनर हुन्। अहिले पनि उनी भिक्टोरिया भीमको मिडलिस्टमा कार्यरत छिन्। 

भिक्टोरिया भीमको मुख्य कार्यालय पोल्यान्डमार्फत युरोपका लागि फ्रिल्यान्सर ट्रेनर मञ्जिताले सन् २०२२ मा यो ब्रान्डबाट अन्तर्राष्ट्रिय नेल्स ट्रेनरको लाइसेन्स प्राप्त गरेकी छन्। 

रोकिँदै, अघि बढ्दै गर्ने क्रममा उनले सन् २०१९ मा जेलिस हार्मोनिबाट नेल ट्रेनरका रूपमा करिअरको दोस्रो अध्याय सुरु गरेकी थिइन्।

२०२१ बाट भिक्टोरिया भीमको दुबईको गोल्लो इन्ड ग्याम्पमार्फत यूएई नेल्स ट्रेनरका रूपमा काम सुरु गरेकी थिइन्। अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको अनुभव देशमा पनि लगानी गर्न लागिपरेकी मञ्जिताको व्यवसाय दुबईमा पनि सञ्चालन भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .