ad ad

समाज


ओलीलाई बालेनको जवाफ : १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनू

‘गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु, नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला’
ओलीलाई बालेनको जवाफ : १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनू

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८१ सोमबार १०:४५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले झापाको गिरीबन्धु चियाबगानले हदबन्दी छुट पाएको जग्गा बिक्रीसम्बन्धी नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात रहेको आरोप लगाएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने प्रयास गरिरहेको पनि बताएका छन्।

‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू,’ साेमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’
  

उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूहरूले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाएका छन्।

‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन विषयान्तर गरे पनि काम हुनु राम्रो हो,’ व्यंग्यात्मक शैलीमा उनले लेखेका छन्, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल-चितवनमा बाटो बनाउनू। यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’

गृहमन्त्री रवि लामिछाने झापाको गिरीबन्धु जग्गा प्रकणमा मौन बसेकोप्रति पनि बालेनले कटाक्ष गरेका छन्। उनले समयमै गिरीबन्धुमा पीडित भएकाहरूको बैना फिर्ता गर्न पनि ओलीलाई आग्रह गरेका छन्।

‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला,’ उनले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .