समाज


कीर्तिमानी आरोही निर्मल पुर्जाले यौन दुर्व्यवहार गरेको आरोप

कीर्तिमानी आरोही निर्मल पुर्जाले यौन दुर्व्यवहार गरेको आरोप

फाइल तस्बिर : निर्मल पुर्जा


नेपालखबर
जेठ १९, २०८१ शनिबार ८:२०, काठमाडौँ

कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) विरुद्ध विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। 

शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा ती महिलाले पुर्जाले आफ्नो असहमति हुँदाहुँदै चुम्बन गर्नेदेखि गोप्य अंग छुनेसम्म हर्कत गरेको दाबी गरेका छन्। 

द न्युयोर्क टाइम्सका अनुसार पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले २०२३ मार्च ३० मा काठमाडौँ आएका बेला पुर्जाले एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। 

यसअघि डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले पुर्जाको नाम नलिई एक जना चर्चित आरोहीले आफ्नो सहमतिबिना चुम्बन गरेको उल्लेख गरेकी थिइन्। 

शुक्रबार प्रकाशित न्युयोर्क टाइम्समा भने उनले ती व्यक्ति पुर्जा नै भएको बताएकी हुन्। पुर्जाले कफी पिउने बहानामा आफ्नो कोठासम्म लिएर गएको र यौन दुर्व्यवहार गरेको उनको आरोप छ। 

‘मैले इन्कार गर्दागर्दै पनि उनले मेरो कपडा खोल्न थालेपछि म जमेजस्तो भएकी थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेकी थिएँ’, उनले न्युयोर्क टाइम्ससँग भनेकी छन्, ‘मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए।’

पुर्जा पूर्वबेलायती सेना तथा बलियो व्यक्ति भएकाले उनका अगाडि आफ्नो केही नलागेको हिन्स्टाको भनाइ छ। 

यस विषयमा पुर्जाले प्रतिक्रिया दिन नचाहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। तर उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुटा र अपमानजनक भएको’ बताएको पत्रिकाले लेखेको छ।  

क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिबिना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन्। विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका पुर्जाले दुर्व्यवहार गरेको उनको दाबी छ। उनको आरोपको पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन्।

पुर्जाले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन्। उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्यासम्मलाई गाइड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad