मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल र वडा नं. ७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमीलगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, वडाध्यक्ष बुमी, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव–इन्जिनियर बिक्रम बुढालगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७७/७८ मा सोरु गाउँपालिका–७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारको ठहर छ।
अख्तियारका अनुसार सडक निर्माण कार्यमा वास्तविकता भन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको पुष्टि भएको जनाएको छ।
गाउँपालिकाका कर्मचारी र वडाअध्यक्षसहित सडक निर्माण श्रम समितिका अध्यक्ष हस्त बहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा तथा सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्कीलाई पनि विपक्षी बनाई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन्।
Shares
प्रतिक्रिया