काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न वडाध्यक्षहरूसमक्ष आग्रह गरेका छन्।
बिहीबार काठमाडौँ थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै मेयर शाहले सम्पदा पुनःनिर्माणको लागि एकै पटक सबै बजेट मागदा दिँदैन की भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरू सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरे।
‘महाबिहार बनाउँदा वडाध्यक्षहरूलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ। म सधैँ भन्छु, एकै पटक सबै माग्नुस्। एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो। सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ,’ उनले भने।
साथै, उनले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए।
‘हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो। हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ। जीवनशैली पनि बढ्छ। सबैको इज्जत पनि बढ्छ। त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ,’ मेयर शाहले भने।
पुरानो शैलीमा सम्पदाहरूको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताउँदै उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने पनि बताए।
Shares
प्रतिक्रिया