ad ad

समाज


बत्तीसपुतलीमा हिँड्दा कुम ठोकिएको विवादमा युवकको हत्या, घटनामा संलग्न चारैजना नाबालक

बत्तीसपुतलीमा हिँड्दा कुम ठोकिएको विवादमा युवकको हत्या, घटनामा संलग्न चारैजना नाबालक

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:३६, काठमाडौँ

काठमाडौँको बत्तिसपुतलीमा सामान्य विषयमा विवाद हुँदा चक्कु प्रहार गरी युवकको हत्या भएको खुलेको छ। 

शनिबार राति साढे ७ बजेतिर कुमारी मार्गमा विपरित दिशाबाट आएका दुई समूह बाटोमा हिँड्ने क्रममा सामान्य ठोक्किएका थिए। सोही विषयमा झगडा हुँदा एक जनाको हत्या भएकाे काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

झगडामा मोरङका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ। उनका साथीको पनि हातमा चोट लागेको थियो। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। 

मृतक र मृतकको साथी कुमारी मार्गमा पुगेपछि चारजना मध्येका एक जनासँग ठोक्किएका थिए। 

त्यसपछि उनीहरुको कुटाकुट भएको थियो। त्यही क्रममा चार जना नाबलक मध्येका एक जनाले चक्कु झिकेर प्रहार गर्दा शम्भु गम्भीर घाइते भएका थिए। घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएका थिए।

प्रहरीले तत्काल उनीहरुलाई केएमसी अस्पताल लगेको थियो। अस्पतालमा धिमाललको ज्यान गएको एसपी अधिकारीले बताए। 

हत्यापछि फरार भएका चार जना नाबालकलाई प्रहरीले राति सवा ९ बजेतिर तिलगंगाबाट पक्राउ गरेको हो। 

‘सडक पेटीमा हिडिरहँदा ठोक्किएछन्। अनि त्यही विषयमा उनीहरुबीच विवाद भयो। यी चारभाइसँग चक्कु रहेछ। उनीहरुले चक्कु निकालेर प्रहार गर्दा मृत्यु भएको देखिन्छ’, एसपी अधिकारीले भने। 

पक्राउ परेका किशाेरहरुमध्ये दुई जना काठमाडौँका, एक जना सिन्धुपाल्चोक र एक जना बाराका हुन्। सिन्धुपाल्चोक र बाराका नाबालक पनि काठमाडौँमै बसेर पढ्दै आएका थिए। 

तर उनीहरुले पहिल्यै चक्कु किन बोकेका थिए भन्ने अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले बताए। मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .