समाज


वैशाख २७ र २८ गते सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने

वैशाख २७ र २८ गते सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १३:३७, काठमाडौँ

सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ। 

राष्ट्रिय युवा परिषद्को सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा यही वैशाख २७ र २८ गते वीरेन्द्रनगरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको हो। 

खोज अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णालीमा पहिलोपटक युवा वैैज्ञानिक सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

सम्मेलनमा सातवटै प्रदेशबाट युवा वैज्ञानिकलाई सहभागी गराइने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख जहारलाल हमालले जानकारी दिए।

‘विज्ञानको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानलाई एक ठाउँमा ल्याएर अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्ने एउटा पाटो हो,’ उनले भने, ‘अर्को भनेको युवा वैज्ञानिकहरूलाई एक ठाउँमा भेला गराएर अनुभव आदान–प्रदान गरी उनीहरुका अध्ययन, अनुसन्धानलाई अझै फराकिलो बनाउँदै विज्ञानको क्षेत्रमा चासो बढाउनु कार्यक्रमको उद्देश्य हो।’

सम्मेलनमा सहभागी हुन चाहने १६ देखि ४० वर्ष समूहका वैज्ञानिकहरुले वैज्ञानिक खोज, अनुसन्धान, सर्वेक्षण आफ्नो वायोडाटासहित पठाउन आग्रह गरिएको छ । प्राप्त निवेदन अध्ययन गरी युवा वैज्ञानिकहरूलाई सम्मेलनमा सहभागी गराइने हमालले बताए।

यो सम्मेलनले युवा वैज्ञानिकहरूलाई खोज अनुसन्धानमा लाग्नका लागि अझै प्रेरित गर्ने मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सुदीप ठकुरीले बताए। 

‘कर्णालीमा राष्ट्रियस्तरको पहिलोपटक युवा वैज्ञानिक सम्मेलन हुँदैछ, यसले हाम्रा विज्ञान क्षेत्रका विद्यार्थीलाई खोज अनुसन्धान गर्नका लागि प्रेरित गर्ने अपेक्षा छ’, उनले भने। 

सम्मेलनले विज्ञान क्षेत्रलाई अझै सघाउ पुग्ने भन्दै सबै युवा वैज्ञानिकलाई सहभागिता जनाउन उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .