समाज


अनि घाइते लिएर अस्पताल पुगेकालाई नै प्रहरीले लगायो हत्कडी

पुराना यी दुई विवाद, जसले लियो ढोलाहिटीमा दुई युवकको ज्यान
अनि घाइते लिएर अस्पताल पुगेकालाई नै प्रहरीले लगायो हत्कडी

उजिर कार्की
बैशाख ८, २०८१ शनिबार २०:१८, काठमाडौँ

ललितपुरको ढोलाहिटीमा आफ्नै साथीको हत्या गरेको अभियोगमा यतिबेला ५ जना हिरासतमा छन्। 

चैत ११ गते राति ढोलाहिटीको डी–पपिना रेस्टुराँमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीका २८ वर्षीय रेवश राईको हत्या भएको थियो। यस घटनाको अनुसन्धान टुंग्याएर जिल्ला अदालत ललितपुरमा अभियोग पत्र दायर गरिसकिएको छ। 

हत्यामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध कर्तव्य ज्यानको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारी वकिल कार्यालयले एक जनालाई भने संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ। 

प्रहरीले ६ जनाविरुद्ध मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलले सशील राईलाई मुद्दा नचलाउने निर्णय गरेको हो। अनुसन्धान प्रतिवेदनअनुसार, सुशील त्यस दिन घटनास्थलमै भए पनि रक्सी सेवन गरेका थिएनन्। 

तर उनलाई पनि प्रहरीले झण्डै एक महिना हिरासतमा राख्यो। त्यस दिन चक्कु प्रहार गर्ने विजय भागेपछि विशाल राई होटलभित्र पुजन भएको ठाउँमा गए। 

‘पुजन राईलाई गाह्रो भएपछि मैले अस्पताल पुर्‍याउन इन्ड्राइभ (मोटरसाइकल वा ट्याक्सी मगाउन मिल्ने मोबाइल एप) बाट ट्याक्सी बोलाउनुपर्नेमा आत्तिएर मोटरसाइकल बोलाएछु,’ विशालले बयानमा भनेका छन्, ‘मोटरसाइकल लोकेसनमा आयो। मोटरसाइकलमा लान नसकिने भएपछि घरमा रहेका विनय थापा मगरलाई फोन गरी पुजन भाइ घाइते भएको हुँदा अस्पताल लानलाई ट्याक्सी लिएर तुरुन्तै रेस्टुराँमा आऊ भनेँ।’

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार, विनय थापामगर स्कुटरमा आइपुगे। उनले पछिपछि ट्याक्सी ल्याए। सोही ट्याक्सीमा पुजन राईलाई राखेर सुशील राईले सुमेरु अस्पताल लगे।

ट्याक्सीको पछिपछि विशाल विनयको स्कुटरमा चढेर गए। सुलभ राई पनि पछिपछि आफ्नै मोटरसाइकलमा सुमेरू अस्पतालमा गए। 
पुजन राईलाई अस्पताल लानुअघि नै रेवश राईलाई स्कुटरमा अस्पताल लगिसकिएको थियो।

छेङविहाङले स्कुटर चलाएर पछाडि बसेका नाम्नुहाङ राईले पक्रिएर रेवशलाई बीचमा राखी अस्पतालतर्फ लगेका थिए। तर, पुजनलाई लैजाने समूहले रेवशलाई कुन अस्पताल लगे भन्ने पत्तो पाएको थिएन। 

बेहोस रहेका पुजन राईलाई सुमेरू अस्पतालमा पुगेपछि चिकित्सकले केहीबेर स्वास्थ्य जाँच गरी ११ः३८ बजेतिर मृत घोषणा गरिदिए।
विशाल र सुलभ सुमेरू अस्पतालकै बाहिरपट्टि बाटोछेउमा बसिरहेका थिए। त्यही राति २ बजेतिर प्रहरी टोली अस्पतालमा पुग्यो र उनीहरू दुवै जनालाई हत्कडी लगायो। 

यस्तो छ विवादको कारण
यी दुई समूहको विवाद भने गएको तिहारबाट सुरु भएको थियो। तिहारको बेला  ढोलाहिटीमा छेङविहाङ नाचिरहेका बेला साहिल श्रेष्ठले उनलाई तानेर एकान्तमा लगे। अनि उनले भने, ‘ए भाइ, तिमी अलि ओभर भएका छौ, विचार गर।’

यसपछि छेङविहाङलाई साहिलले आफूलाई हेपेको र अपमान गरेको लागिरहेको थियो। 

करिब ३ महिनाअगाडि विशाल चोक नख्खिपोटस्थित किम्ची रेस्टुराँमा अर्को लफडा भयो।

साहिल श्रेष्ठको समूह मदिरा सेवन गरिरहेको थियो। छेङविहाङ लगायतका व्यक्तिहरू त्यहाँ पुगेर सबैसँग हात मिलाए। 

साहिल श्रेष्ठसँग हात मिलाइसकेपछि अनुहारमा पनि हात लगेर जिस्क्याए। त्यतिबेला पनि साहिलले छेङविहाङलाई ‘ए भाइ, तँ यता आइज। तँ बढी भएको?’ भन्दै थर्काएका थिए। 

‘दाइ, मैले जिस्केर तपाईँको अनुहारमा हात लगेको हो,’ भन्दै जवाफ दिए छेङविहाङले।

यी घटनाले दुई समूहबीचमा कलह बढाइरहेको थियो। विशालले त्यतिबेला साहिलको पक्ष लिएको भन्दै छेङविहाङ उनीसँग पनि रिसाएका थिए। 

जहिल्यै साहिलकै पक्ष लिएको भन्दै ‘मचाहिँ भाइ होइन?’ भन्दै गुनासो पनि गरेका थिए। तर साहिलसँग विवाद हुनुमा छेङविहाङकै गल्ती रहेको विशाललगायतले बताएका छन्। 

त्यसपछि उनीहरूको पनि चर्काचर्की परेको थियो। त्यस दिन पनि उनीहरूले यही पुरानो कुरा निकाल्दा दुई जनाको ज्यान लिने घटना हुन पुगेको थियो। 

सुरुमा होटलबाट निकालेपछि छेङविहाङले नै रेवशलाई फोन गरेर बोलाएका थिए। आफूहरूलाई होटलमा हेपिएको र रक्सी माग्दा पनि नदिएको गुनासो गरेपछि रेवश उक्त होटलमा पुगेका थिए। 

रेवश ‘पख तिमीहरूलाई हेप्ने केटाहरूसँग म कुरा गर्छु’ भन्दै पुगेका थिए। रेवश गएपछि बाहिर सडकमा रहेका पाँचै जना पुनः होटल फर्किए। त्यसपछि सोही विवाद बढ्दै जाँदा चक्कु प्रहार भयो। 

रेवशलाई लिएर छेङवीहाङ लगायत पाटन अस्पताल पुगेका थिए। प्रहरीले उनीहरुलाई पनि पाटन अस्पतालबाटै राति साढे ३ बजेतिर पक्राउ गरेको थियो। यसरी घटनामा दुई जना मारिएपछि प्रहरीले घाइतेलाई लिएर अस्पताल पुगेकाहरुलाई नै हतकडी लगाएको थियो। 
सुरुमा सबैलाई पक्राउ गरेको प्रहरीले अहिले तीमध्ये तीन जनालाई मुद्दा चलाएर अरूलाई छाडिदिएको छ। अरू भने घटनापछि फरार भएका थिए। 

होलीको त्यो साँझ
गत चैत ११ गते होली पर्वको दिन थियो। करिब बेलुकाको ८ बजेको समयमा  ललितपुरको ढोलाहिटी, राजकुलोमा रहेको डी–पपिना होटलमा पुजन राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई, प्रदीप राई, राजु गुरूङ र विजय राई बियर खाएर बसिरहेका थिए। 

उनीहरूले ६-७ बोतल गोर्खा स्ट्रङ बियर खाएर रमाइलो गरिरहेका थिए। जीवन भन्ने सुशील राई पनि त्यहीँ थिए। तर उनले बियर नखाई गफ सुनिरहेका थिए। 

त्यहीबेला बाहिरबाटै मादक पदार्थ सेवन गरी छेन्विहाङ राईसहित उनका साथीहरू विराट राई, नाम्नुहाङ राई र अनन्त राई होटलमा पुगे। अनि, उनीहरूले सोधे, ‘साहिल श्रेष्ठ खोइ?’

साहिल त्यहाँ थिएनन्। 

साहिललाई नभेटेपछि रक्सी मगाए। उनीहरू बाहिरै रक्सी खाएर मातिसकेकाले होटल सञ्चालक विजयले रक्सी छैन भनेर दिएनन्। 

छेन्विहाङले त्यसपछि विगतमा साहिल श्रेष्ठसँग मनमुटाव भएको विषय उठाए। विशाल हाङ मुकारुङ राईसँग उनको त्यही विषयमा झगडा सुरु भयो। 

त्यसपछि विजय र सुशीलले दुवै जनालाई सम्झाईबुझाई गरी होटलबाट बाहिर निकाले। केही परसम्म पठाएर उनीहरू होटलमै फर्किए। 
विशाल हाङ मुकारुङ राई, सुलभ राई, जीवन भन्ने सुशील राई, प्रदीप राई, पुजन राई, राजु गुरुङ र विजय होटलको सटर बन्द गरेर भित्र बसिरहेका थिए। 

त्यसपछि पसलको हिसाबकिताब गरिरहेको विजयले बयानमा बताएका छन्। 

सोही होटलमा काम गर्ने सोनु राईचाहिँ सटर बन्द गरेर घर गइसकेकी थिइन्।

बेलुका करिब पौने १० बजेतिर बाहिरबाट ठूल्ठूलो स्वरमा कराउँदै होटलको बन्द सटर खोलेर रेवश राई, छेङविहाङ राई, विराट राई, नाम्नु हाङ राई र अनन्त राई भित्र पसे। 

रेवशले भने, ‘मेरा भाइहरूलाई हेपेर, होच्याएर कुरा गर्ने को हो?’

रेवशलाई विशालले सम्झाउन खोजे। तर रेवश उनीमाथि नै जाइलागे। सुलभ र विजयले पनि सम्झाएर पठाउन खोजे। रेवश मानेनन्। आफ्ना भाइहरूलाई रक्सी नदिएको र हेपेको भन्दै उनी अझै आक्रोशित भए। 

रेवशले हातपात गर्न थालेपछि आफू भित्र भान्सामा गएर चक्कु लिएर आएको विजयले बयान दिएका छन्। 

‘रेवश राईलाई हान्न भनी बाहिर निस्कँदै गर्दा उक्त होटलको ढोकानजिकै बसिरहेको साथी पुजन राई, सुलभ राई र विशाल राईले मलाई रोक्ने प्रयास गरेपछि साथीहरूलाई मैले धकेल्दै हुत्याउँदै अगाडि बढ्न खोज्दा मैले बोकेको चक्कुले पुजन राईको बायाँ तिघ्रामा गहिरो चोट लाग्न पुग्यो। ऊ सोही ठाउँमा ढलेपछि सुलभ राई समेतका साथीहरूले होटलको काउन्टरमा रहेको कुर्सीमा लगी राखेको थियो,’ विजयले बयानमा भनेका छन्। 

त्यसपछि झन् आक्रोशित हुँदै विजय बाहिर निस्कँदा होटलबाहिर रेवशलगायत उनको समूह अगाडि सडकमै हल्ला गरिरहेका थिए।

विजय बाहिर निस्किएपछि रेवश उनलाई आक्रमण गर्न अघि बढे। त्यसपछि विजयले आफ्नो हातमा भएको चक्कले रेवशलाई प्रहार गरे। 
छातीमा चक्क लागेपछि रेवश बाटोमै ढले। 

त्यतिबेला होटलभित्र रहेका घाइते पुजन राईभन्दा बाहेक सबै जना बाहिर निस्किसकेका थिए। रेवश ढलेपछि भने आफूलाई एकदमै डर लागेको र चक्कु त्यहीँ फ्याँकेर राजु गुरुङलाई आफ्नो बुलेट मोटरसाइकलको चाबी दिँदै मोटरसाइकलको पछाडि बसेर विजय भागेका थिए।

त्यसपछि उनीहरू ललितपुरको ग्वार्कोमा पुगेर केहीबेर बसे। त्यहाँबाट साम्पाङ चोकमा गएर विजयका मामा नाता पर्ने नविन राईको कोठामा गएर राजु र विजय सुते। उनीहरुलाई त्यतिबेलासम्म पुजन र रेवशको मृत्यु भइसकेको भने थाहै थिएन।

तर प्रहरी खोज्दै पुग्यो र विजयलाई नियन्त्रणमा लियो। उनलाई भगाउने राजुले भने पछि आत्मसमर्पण गरेका थिए। 

कसमाथि के अभियोग?
घटनामा मुख्य प्रतिवादी खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका विजय राईलाई बनाइएको छ। 

प्रहरीका अनुसार, हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालकसमेत रहेका ३१ वर्षीय विजयले नै दुवै युवकलाई चक्कु प्रहार गरेका थिए। 

यस्तै सोही ठाउँका अर्का होटल सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण भुरचोक घर भई हाल ललितपुर–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने २५ वर्षीय  छेङविहाङ राई र तेह्रथुम म्याङलुङ नगरपालिका–८ घर भई हाल ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङलाई पनि प्रतिवादी बनाइएको छ। 

विजयलाई आजीवन कैदको माग गरिएको छ। बयानका क्रममा विजयले आफूले रेवशको हत्या गर्नै चक्कु प्रहार गरेको तर आफ्नै साथी पुजनलाई भने झुक्किएर लागेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .