ad ad

समाज


डोल्पा आगलागी : काठमाडौँ ल्याइएका २ बालकको पनि मृत्यु

डोल्पा आगलागी : काठमाडौँ ल्याइएका २ बालकको पनि मृत्यु

नेपालखबर
बैशाख १, २०८१ शनिबार १३:४७, काठमाडौँ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परी गम्भीर घाइते भएका तीनै बालबालिकाको मृत्यु भएको छ।

गत बिहीबार आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए।

उपचारका क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताए। 

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको हो।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए।

एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए।

त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाइएको थियो।

उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै रु १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

‘खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ’, उनले भने। 

यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .