दुई धार्मिक समूहबीचको तनाव हिंसात्मक झडपमा परिणत भएपछि सुनसरी सदरमुकाम इनरुवासहित ५ वटा पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ।
मुस्लिम र हिन्दु समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले यसअघि हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।
झडप नरोकिएपछि प्रशासनले शुक्रबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको हो।
सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेका हुन्। यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो।
केही दिनयता सुनसरीका सीमावर्ती क्षेत्रमा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच झडप भइरहेका थिए।
गत बिहीबार एक समूहले हिन्दु समुदायका युवालाई मरणासन्न हुने गरी आक्रमण गरेको थियो। त्यसपछि तनावले उग्ररुप लिँदा सम्भावित हिंसा रोक्न प्रशासनले कर्फ्यु लगाएको हो।
तनाव चुलिँदा शुक्रबार सुनसरीको भुटाहामा हिंसात्मक झडप भएको थियो। भुटाहामा भएको झडपमा चारजना घाइते भएका छन्।
प्रहरीले कयौँ दर्जन सेल अश्रुग्यास र हवाई फायर गरिसकेको छ। घाइते तीनजनाको विराटनगरमा र एकजनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ।
तनावबीच स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम शुक्रबार बेलुका ५ बजेदेखि सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रूपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।
आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने पनि फुयलले बताएका छन्।
Shares
प्रतिक्रिया