समाज


डेंगीले झस्किएका खरिपाटीबासी क्वारेन्टाइन राख्दा त्रसित (भिडियाे)

डेंगीले झस्किएका खरिपाटीबासी क्वारेन्टाइन राख्दा त्रसित (भिडियाे)

मणि दाहाल
फागुन २, २०७६ शुक्रबार १५:३९,

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको मूलगेटमा केही दिनयता सुरक्षाकर्मीको पहरा छ। त्यहाँ तैनाथ छन्– नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान। केन्द्रमा प्रहरी, सेना, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीको व्यापक ओहोरदोहोर र चहलपहल छ।

चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्तमा रहेका १ सय ८५ नेपालीलाई स्वदेश फर्काई क्वारेन्टाइन (स्वास्थ्य परीक्षण) मा राख्न सो तालिम केन्द्र छनोट भएपछि त्यहाँ यसको व्यापक तयारी भइरहेको छ। 

क्वारेन्टाइनको तयारी र व्यवस्थापनका लागि खटिएका र सो तालिम केन्द्रमा काम गर्ने प्राधिकरण कर्मचारीलाई परिचय पत्र हेरेर भित्र पठाइन्छ। अरुलाई भने प्रवेश निषेध गरिएको छ।

केन्द्रको मूलगेटबाट भित्र प्रवेश गरेपछि सो तालिम केन्द्रलाई बीचबाट जस्ता पाताको बार लगाएर दुई भागमा विभाजन गरिएको छ। त्यसको एकापट्टि बारले घेरिएको छ र त्यो भागभित्र रहेका घरहरुलाई चारवटा ब्लकमा विभाजन गरिएको छ। तिनै ब्लकमा चीनबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

Bidar Kharipati
सचिव नारायणप्रसाद बिडारी

उताबाट आउने १ सय ८५ मध्ये ४४ जना महिला छन्। एउटा ब्लकमा पुरुष, अर्कोमा महिला, तेस्रोमा दम्पत्ति र चौथो ब्लकमा क्वारेन्टाइन स्थलमा खटिने स्वास्थ्यकर्मी र अन्य रहनेछन्। सो क्षेत्र अहिलेदेखि नै नेपाली सेनाको कमान्डमा छ।

‘त्यहाँ राखिनेका लागि सेनिटरी प्याडदेखि तौलिया र दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान हरेक व्यक्तिका लागि छुट्टाछुट्टै सेटको व्यवस्था गरेका छौं,’ बिडारीले भने।

बिडारीको टोलीले विमानस्थलदेखि खरिपाटीसम्मको तयारीको अवलोकन गरेको थियो। उनीहरुले कसरी ती व्यक्तिहरुलाई ल्याउने भनी शुक्रबार रिहर्सल नै गरेका थिए।

सरकारले हुबेई प्रान्तका विभिन्न सहरमा रहेका नेपालीहरुलाई वुहानमा भेला गरेर आइतबार झिसमिसे अघि नै काठमाडौं ल्याउने तयारी गरेको छ। त्यसका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमान शनिबार अपरान्ह त्यसतर्फ जाँदैछ।

यसरी स्वदेश फर्किने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा बिताउनु पर्नेछ।

614A9508.jpg
खरिपाटीस्थित क्वारेन्टाइनका लागि तयार गरिकएको भवन

तर, खरिपाटी लगायत ठाउँमा क्वारेन्टाइन राख्ने निर्णयलगत्तै त्यहाँका स्थानीय बासिन्दा आन्दोलित हुन थालेका छन्। दैनिक जस्तो स्थानीय बासिन्दा क्वारेन्टाइन क्षेत्रको विपरीत दिशामा रहेको चाँगुनारायण नगरपालिका कार्यालय पुग्ने गरेका छन्।

बस्तीको बीचमा रहेको तालिम केन्द्रमा क्वारेन्टाइनस्थल बनाउन नहुने उनीहरुको भनाई छ। जनदबाब बढ्दै गएपछि गतसाता भएको नगरपालिकाको साधारणसभाले क्वारेन्टाइन राख्न नहुने निर्णय समेत गरेको थियो।

नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले सरकारले केही स्थानीय जनता र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरे पनि अझै पर्याप्त जानकारी नभएको बताए।

‘अहिले पनि विरोध रोकिएको छैन। त्यसले हाम्रो मागको बारेमा सरकारले विचार गर्छ भन्ने हाम्रो आशा छ,’ मिश्रले भने, ‘सरकारले स्थानीय जनताका लागि हेल्थ डेस्क राख्ने कुरा गरेको छ।’

चीनबाट बिरामी मान्छे नआउने भएकाले स्थानीयले विरोध गर्नु उचित नभएको सचिव बिडारीले बताए। 

‘चीनले स्क्रिनिङ गरेर संक्रमितलाई उतै राख्छ। यहाँ बिरामीलाई होइन स्वस्थ मान्छेलाई राख्न खोजिएको हो,’ उनले भने।

नगरपालिका कार्यालयमा भेटिएकी उपमेयर बिना बास्तोलाले जनप्रतिनिधिहरु कहिल्यै पनि जनताको मागविरुद्ध जान नसक्ने बताइन्। त्यसैले नगरपालिकाले अहिले पनि क्वारेन्टाइन राख्ने विषयको विरोध गरिरहेको उनको धारणा थियो।

614A9526.jpg
उपमेयर बिना बास्तोला

खरिपाटीबासी क्वारेन्टाइनबारे बढी त्रसित हुनुको केही कारण रहेको उनले बताइन्।

‘गएको गर्मीमा खरिपाटीबासीलाई डेंगीले सताएको थियो। अहिले कोरोना महामारी भएको ठाउँका मान्छेलाई पनि यहीँ नै ल्याएर राख्ने भनेपछि यहाँका मान्छेहरु डराइरहेका छन्,’ बास्तोलाले भनिन्, ‘यहाँ नराखियोस् भनेर दिनैपिच्छे नगरपालिकामा स्थानीयको डेलिगेसन आउने गरेको छ। हामी जनप्रतितिनिधिहरु जनताको भावनाभन्दा बाहिर जान सक्दैनौं।’

तर बास्तोलाले चीनमा रहेका विद्यार्थी र उनीहरुको परिवारले भोग्नुपरेको त्रास र पीडा सम्झिँदा त्यसप्रति आफूहरु निकै संवेदनशील रहेको र त्यसले आफूहरुले अत्यासै लाग्ने गरेको पनि बताइन्।

गर्मीका बेला भक्तपुरको विभिन्न स्थानमा डेंगीका बिरामीहरु भेटिएपछि चारवटै नगरपालिकाले रोकथामका लागि अभियान चलाएका थिए।

खरिपाटी तालिम केन्द्रको गेटमै चिया पसल चलाँउदै आएकी ७० वर्षीया कृष्णकुमारी थापामगरले आफूलाई चीनबाट फर्काएर ल्याउने नेपालीलाई राख्नका लागि त्यो ठाउँ रोजिएको भन्नेबाहेक अरु केही थाहा नभएको बताइन्।

krishna-kumari-thapa.jpg
खरिपाटीकी बासिन्दा कृष्णकुमारी थापामगर

‘चीनबाट फर्काउने नेपालीलाई यहाँ राख्न लागेको भन्ने सुनेको छु। तर अरु केही थाहा छैन,’ उनले भनिन्, ‘चिया खान आउने मानिसले नयाँ रोगका कुरा गरेको सुन्छु। तर मलाई केही डर लागेको छैन। ७० वर्षकी भइसकेँ, अब किन डराउने?’

खरिपाटीमा भन्दा नगरकोटमा स्थानीयवासीले चर्को विरोध गरेका थिए। नेपालखबर टोली शुक्रबार अपरान्ह नगरकोट पिपलबोटस्थित राष्ट्रिय खानेपानी तथा ढल निकासको केन्द्रीय तालिम केन्द्र पुग्दा त्यहाँ प्रहरी र स्थानीयबासीबीच झड्प नै भइरहेको थियो। 

सो तालिम केन्द्रमा नेपालीहरुलाई उद्धार गर्न चीन जाने विमानका चालक दलका सदस्य तथा सोही विमानमा जाने स्वास्थ्यकर्मी गरी जम्मा १९ जनालाई राख्ने तयारी भइरहेको छ।

त्यसको विरोधमा पाँच दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका स्थानीयवासीले शुक्रबार सार्वजनिक यातायात समेत ठप्प परेका थिए।

स्थानीय मीना थिङले नगरकोटमा क्वारेन्टाइन राख्ने भन्नेबारे जानकारी पाउनासाथ विरोध सुरु गरेको बताइन्।

स्थानीयले बालेको टायर प्रहरीले निभाउन थालेपछि झडप भएको थियो। प्रहरीले स्थानीयलाई लाठी प्रहार गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

614A9639.jpg
नगरकोटमा विरोधका लागि भेला भएका स्थानीय

क्वारेन्टाइन राख्न पाइँदैन भनेर विरोधमा उत्रिएका स्थानीयले तालिम केन्द्रमा लैजाने खानेपानीको पाइप समेत काटिदिएको त्यहाँ खटिएका प्रहरीले बताए। स्थानीयले भने आफूहरुसँग कुनै परामर्श नगरी बस्तीनजिकै क्वारेन्टाइन राखिएपछि विरोध गर्नुपरेको बताए।

स्थानीय तहलाई कुनै जानकारी समेत नदिई सरकारले माघ २७ गतेदेखि एक्कासि सो स्थानमा क्वारेन्टाइन राख्ने काम सुरु गरेको चाँगुनारायण वडा नम्बर ६ का अध्यक्ष सन्ते वाइबाले बताए।

‘यस्तो बाक्लो बस्ती भएको स्थानमा क्वारेन्टाइन राख्नुहुँदैन भनेर हाम्रो यहाँको वडा कार्यालयले विरोध गर्दै आएको छ। क्वारेन्टाइन राख्ने विषयमा सरकारले न त पहिले सोध्यो न त अहिले त्रसित भएका स्थानीयलाई राम्रोसँग कुरा बुझाउन सकेको छ,’ वाइबाले भने, ‘त्यसैले आज सार्वजनिक यातायात बन्द गरेका छौं। हामीले सीडीओ कार्यालय र नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएका छौं।’

614A9554.jpg
खरिपाटीमा क्वारेन्टाइन भवनको सुरक्षामा खटिएका प्रहरी

प्रहरी र गाउँलेबीच झडप भएपछि भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रधानले स्थानीय प्रतिनिधिसँग परामर्श गर्न खोजेपछि आन्दोलित स्थानीय जनताले भने वडाध्यक्ष सरकारसँग मिलेको र विरोधलाई सशक्त पार्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .