ad ad

समाज


छिमेकीलाई फसाउन ७० वर्षका हजुरबुबा र १२ वर्षका नातिको हत्या

छिमेकीलाई फसाउन ७० वर्षका हजुरबुबा र १२ वर्षका नातिको हत्या

नेपालखबर
चैत ४, २०८० आइतबार १८:५१, काठमाडौँ

नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा ७० वर्षका अक्षयलाल चमार र उनका नाति १२ वर्षीय गौचरण चमारको हत्यामा संलग्न आरोपी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले घटना भएको एक महिनापछि हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको हो।

गत फागुन १ गते बिहान करिब ६ बजेतिर मर्चहवा स्थित गण्डक बाँधको जग्गामा कुटि बनाएर बसेका अक्षयलाल र गौचरणको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

हत्यामा संलग्न रहेको आरोपमा त्यही ठाउँका २९ वर्षीय अजय कुमार धरिकार र २० वर्षका चन्दन हरिजन पक्राउ परेका हुन्।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीसँगै सीआईबी पनि खटिएको थियो।

शनिबार पक्राउ परेका दुवै जनालाई आइतबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। कानूनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बेलाटारी लगिएको छ।

उनीहरुको घरबाट घटनामा प्रयोग गरेको चक्कु, घटनास्थलमा फेला परेको हाप पन्जाको अर्को जोडी पन्जा, अजय कुमार धरिकारले घटनामा लगाएको हुडी र घटनाको समयमा लगाएको दायाँ हातको चोरी औंलाको भागमा २ ठाउँमा काटिएको पन्जा बरामद भएको छ।

गत माघ २६ गते चन्दन हरिजनले मापसे गरी सुस्ता गाउँपालिका ३ मर्चहवा बस्ने छिमेकीको मोटरसाईकलमा हानेपछि झगडा परेको थियो। उक्त झगडापछि ईलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन दिएका थिए।

माघ २८ गते ईलाका प्रहरी कार्यालय बेलाटारीमा दुई पक्षलाई झिकाई छलफल गराइएको थियो।

सोही विषयमा रिसईवी राखी छिमेकीसँग बदला लिने योजना बनाएको खुलेको छ। तर छिमेकीसँग बदला लिने योजनामा रहेका उनीहरुले चमार नातिबाजेको हत्या गरेको प्रहरीको दाबी छ।

त्रिवेणी नाहन मेलाको मौका पारी निज चन्दन हरिजनको साथी अजय धरिकारले भारतबाट चक्कु खरिद गरी ल्याएका थिए।

भोलिपल्ट माघ २९ गते बेलुकी अक्षयलाल चमारको घर नजिक गई पहिले झगडा परेका छिमेकीलाई कुरेर बसेका थिए। तर उनीहरुले कुरेका व्यक्ति त्यसदिन आएनन्।

उनीहरु नआएपछि योजना परिवर्तन गरेर चमारको हत्या योजना बनाए। अक्षयलाल चमारलाई मारेमा त्यसको आरोप आफूसँग झगडा परेका छिमेकीलाई लगाउन सकिने उनीहरुको बुझाइ थियो।

त्यही सोचले उनीहरुले ७० वर्षका अक्षयलालको हत्या गरेका थिए। तर हजुरबुबाको हत्या गरेको सँगै सुतेका १२ वर्षका नातीले थाहा पाएपछि उनको पनि हत्या गरेको खुलेको छ।

नातीले आफूहरुलाई चिनेकाले उनको पनि हत्या गरेको पक्राउ परेका आरोपिले बताएको सीआईबीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .