ad ad

समाज


टेलिकममा जागिर खाँदै ठेक्का पट्टा, अख्तियारले चलायो १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा

टेलिकममा जागिर खाँदै ठेक्का पट्टा, अख्तियारले चलायो १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १८:१६, काठमाडौँ

नेपाल टेलिकमका एकजना प्राविधिक अधिकृतविरुद्ध डेढ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा लगाइएको छ।

टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ६१ लाख २० हजार ४ रुपैयाँ ३० पैसा बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको हो। 

सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमदुङ एन्ड थोकर कन्सट्रक्सन कम्पनीमार्फत ब्यापारसमेत काम गरेको अख्तियारले जनाएको छ।

त्यसैगरी उनले सूर्यविनायक-धुलिखेल-सिन्धुली बर्दिबास सडक परियोजना ठेक्कामा लिई प्रतिनिधिका रुपमा हस्ताक्षरसमेत गरेर भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्। 

सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१ (३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय सञ्चालन वा बाह्य काम गर्न स्वीकृति लिनुपर्ने प्रक्रिया पूरा नगरेको अख्तियारको ठहर छ।

उक्त कानुनी प्रावधानविपरीत टेलिकमको बिनास्वीकृति निजी कम्पनी हिम्दुङ एन्ड थोकर कन्सट्रक्सन प्रालिको सेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/०७० देखि काम गरिरहेको पनि अख्तियारले भेट्टाएको छ।

त्यसक्रमा उनले टेलिकमको जागिर पनि रहेका बेला परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टासमेतमा सामेल भई हिम्दुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिबाट ४५ लाख १७ हजार ५ सय पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय १ करोड १६ लख २५ हजार ४ रुपैयाँ ३० पैसासहित जम्मा १ करोड ६१ लाख २० हजार ४ रुपैयाँ ३० पैसा गैरकानुनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको अख्तियारले उजुरीमा उल्लेख गरेको छ।

सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानुनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति बिगो कायम गरी त्यही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानुनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुने मागदाबीसहित मुद्दा चलाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .