समाज


फेसबुकबाट चिनजान भएका पुरुषले कपडा पसलमा काम लगाइदिने भनी जब काठमाडौँ बोलाए...

फेसबुकबाट चिनजान भएका पुरुषले कपडा पसलमा काम लगाइदिने भनी जब काठमाडौँ बोलाए...

नेपालखबर
फागुन २५, २०८० शुक्रबार ७:२३, काठमाडौँ

बुटवलको कपडा पसलमा काम गर्न भनेर गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन्। पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा बेचेका हुन्।

नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई काठमाडौँ बोलाई वीरगन्ज हुँदै भारतको मुजफ्फरपुरमा पुर्‍याई बिक्री गरेका हुन्।

पीडितलाई त्यहाँ बन्धक बनाइराखेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌सम्म जानकारी पुगेपछि उनको पहलमा महिलाको उद्धार गरिएको छ। त्यसपछि पीडितले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएकी थिइन्।

उनको जाहेरीका आधारमा राईविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको फुँयालले बताए।

उनले पीडितको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि राईले बुटवलमा मासिक रु ४० हजारदेखि ५० हजार तलब पाइने कपडा पसलमा काममा लगाइदिने प्रलोभन देखाई गएको माघ ४ गते महिलालाई काठमाडौँबाट वीरगन्ज लगेको जानकारी दिए।

त्यसपछि उनले रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पुर्‍याई कथित मोर्डन फेसन ट्रेड मार्क नामक कम्पनीमा बुझाएको खुल्न आएको छ।

राईले कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनी जाहेरवालाबाट सुरुमा १६ हजार लिएको खुल्न आएको हो। तालिम दिई सकेपश्चात् कम्पनीमा लगानी गर्नुपर्छ भनी जाहेरवालाबाट कम्पनीमा लगानीको लागि जबर्जस्ती एक लाख ८० हजारसमेत लिएको पत्ता लागेको छ।

बिमासमेत गर्न रकम चाहिन्छ भनेकामा पीडित महिलाले इन्कार गरी नेपाल फर्काइदिन आग्रह गरेकी थिइन्। 

मानव तस्कर गिरोहले हामीले तिमीलाई जसरी ल्याएका हौँ, तिमीले पनि त्यसैगरी अन्य चार जना व्यक्तिहरु ल्यायौँ भने मात्र यहाँबाट पठाइन्छाैँ भनी मोबाइल जफत गरी, बाहिर निस्कनसमेत नदिई कम्पनीको होस्टलमा बन्धक बनाएका राखेका पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन्।

उक्त गिरोहले नेपालबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई कम्पनीमा काममा लगाइदिने प्रलोभनमा देखाई लैजाने र त्यसरी लगिएका व्यक्तिलाई  अन्य चार जना व्यक्ति खोजेर ल्याएमा कमिसन दिने भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको छ। उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशङ्कामा खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad