समाज


सकियो हिउँदयाम, आजदेखि प्रिमनसुन

सकियो हिउँदयाम, आजदेखि प्रिमनसुन

नेपालखबर
फागुन १८, २०८० शुक्रबार ६:४९, काठमाडौँ

आज (मार्च १) बाट हिउँदयाम (विन्टर सिजन) सकिएर प्रिमनसुन सुरु भएको छ। 

मौसमविद्का अनुसार अंग्रेजी महिना फ्रेबुअरीसँगै हिउँदयामको पनि अन्त्य भएको हो। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ महिनालाई विन्टर सिजन अर्थात् हिउँदयाम मानिन्छ। मार्च सुरु भएसँगै नेपालको मौसम पनि प्रिमनसुनमा प्रवेश गरेको हो।

मौसमविद्का अनुसार प्रिमनसुनमा बिहान–बिहान मौसम सफा रहने, दिउँसो बादल बन्ने र साँझपख मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ। 

‘तर यस्तो आजभोलिबाटै सुरु हुँदैन’, मौसमविद् प्रधानांगले भने, ‘मौसम बिस्तारै त्यसतर्फ अघि बढ्छ।’

मौसमविद्का अनुसार प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म प्रिमनसुन मानिन्छ। 

नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो। त्यसअघिसम्मलाई प्रिमनसुन नै मानिन्छ।

मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, त्यसअघिसम्म मनसुन रहन्छ भने त्यसपछि पोस्ट मनसुन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ।

त्यसपछि फेरि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।  

यस्तो छ ३ दिनको मौसम अनुमान-

फागुन १८ गते  (शुक्रबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन १९ गते  (शनिबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको तराई र कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन २० गते  (आइतबार)

दिउँसो: देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र मधेस प्रदेशका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति: देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का पर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

स्रोतमौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .