ad ad

समाज


काठमाडौँमा अब सम्पदाको चिनारी क्युआर कोडमा

काठमाडौँमा अब सम्पदाको चिनारी क्युआर कोडमा

नेपालखबर
फागुन १७, २०८० बिहिबार ९:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नम्बर १ ले क्युआर कोडमार्फत् ऐतिहासिक सम्पदाको जानकारी दिन थालेको छ। वडा क्षेत्रमा पर्ने नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड राखिएको हो। 

‘सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकुन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग थालेको हो,’ वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेका हुन्छन्। क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषयमा जानकारी पाइन्छ।’

वडा सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ वटा प्राचीन ढुङ्गेधारा छन्। यस्तै नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लाल गणेश जस्ता प्राचीन सांस्कृतिक सम्पदा छन्। 
  

यी सम्पदाको प्रवर्धनका लागि क्युआर कोडमार्फत जानकारी दिन थालिएको हो। 

वडा सचिव सर्वज्ञराज पौडेलले भने, ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु वडा नं. १ का विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउँछन्। उनीहरुलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रुपमा हामीले अहिले २ वटा मन्दिर र एउटा महाविहारको चिनारी क्युआर कोडमा राखेका छौँ। यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउने छौँ।’

वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यु आर कोड राखेको हो। 

क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनीज, कोरियन, स्पेनिस, जापानीज, अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .