समाज


बालकुमारी घटना : जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न सरकारले बनायो अर्को समिति

बालकुमारी घटना : जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न सरकारले बनायो अर्को समिति

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १८:२९, काठमाडौँ

गत पुस १३ गते दुईजना युवकको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्यन गर्न सरकारले अर्को समिति बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत सदस्य रहेको दुई सदस्यीय समिति बनाएको हो। 

दुईजना मन्त्री सम्मिलित उक्त अध्ययन समितिलाई जाँचबुझ आयोगको उक्त प्रतिवेदन अध्ययन गरी आगामी फागुन २० गतेभित्र आवश्यक  सिफारिस गर्ने म्यान्डेट दिएको छ।

‘बालकुमारी घटनाबारे जाँचबुझ आयोगबाट जुन प्रतिवेदन प्राप्त भएको छ, अब दुई सदस्यीय समितिले यसको अध्ययन गर्ने छ। समितिले फागुन २० गतेसम्म जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ’, मन्त्री शर्माले भनिन्। 

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गत फागुन ४ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेद बुझाएको थियो। जसमा बालकुमारी घटनाको मुख्य दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई देखाएको थियो।

बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको थियो।

बालकुमारीस्थित ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

ती सदस्यका अनुसार उक्त घटनाका बेला बालकुमारीमा फिल्ड कमान्डरका रुपमा तैनाथ नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ प्रहरी नायव निरीक्षक (सई) बोधराज दनुवारको पनि मुख्य कमजोरी आयोगले देखाएको थियो। 

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्)ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad