ad ad

समाज


१८ वर्षकै उमेरमा भागी बिहे गरिन्, सम्बन्ध बिग्रिएपछि १० महिनामै प्राण त्यागिन्

१८ वर्षकै उमेरमा भागी बिहे गरिन्, सम्बन्ध बिग्रिएपछि १० महिनामै प्राण त्यागिन्

गोकुल जोशी
फागुन ११, २०८० शुक्रबार ८:५३, कञ्चनपुर

डडेल्धुराको अमरगढी नगरपालिका–२ कुस्मारीकी १८ वर्षीया भुवनेश्वरी ऐरले गएकाे वैशाख ११ गते भागी विवाह गरेकी थिइन्।

अमरगढी नगरपालिका– १ मालमका युवकसँग प्रेम सम्बन्धमा रहेकी उनले १० महिनाअघि मात्रै तिनै युवकसँग भागेर बिहे गरेकी थिइन्।

अभिभावकको अनुमतिबिनै ती युवकसँग विवाह सम्बन्धमा बाँधिएकी भुवनेश्वरीलाई सुरुमा माइती पक्षले स्वीकारेको थिएन। केही समयपछि भुवनेश्वरीको विवाहलाई माइती पक्षले पनि स्वीकारेको थियो।

भागी विवाहपछि पहिलो पटक गएकाे साउनमा माइत आएकी भुवनेश्वरी त्यसपछि माइतीघर आउजाउ गरिरहन्थिन्। 

सुरुमा भुवनेश्वरीको ती युवकसँग वैवाहिक सम्बन्ध सुमधुर थियो।

विवाह सम्बन्धमा जोडिएको १० महिनामा नै आफूलाई पतिले घरबाट निकालेको भन्दै केही दिनअघि मात्रै माइत आएकी भुवनेश्वरीले तीन दिनअघि प्राण त्यागेकी छन्। 

यही फागुन ८ गते माइती घर नजिकैकाे जंगलमा काफलको रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

भुवनेश्वरीले श्रीमानकाे अर्की युवतीसँग पनि प्रेम सम्बन्ध रहेका थाहा पाएपछि उनीहरुबीचकाे सम्बन्धमा खटपट सुरु भएको थियो। भुवनेश्वरीलाई श्रीमानले कुटपिटका साथै विभिन्न तनाव दिने गरेको माइती पक्षको दाबी छ। 

‘केटा अर्की युवतीसँग दुई वर्षदेखि ‘रिलेसन’मा रहेछन्। विवाह गरेको केही महिनापछि म उसलाई पनि बिहे गरेर ल्याउँछु भनेर उनले तनाव दिन थालेछन्’, भुवनेश्वरीकी बहिनीले भनिन्, ‘कुटपिट पनि गर्थे रे। घरबाट निकालेपछि दिदी यहाँ आएकी थिइन्।’

उनका अनुसार फागुन ७ गते भुवनेश्वरीले श्रीमानलाई अर्कै युवतीसँग देखेकी थिइन्। त्यसपछि ती युवकले श्रीमती भुवनेश्वरीलाई अनावश्यक शंका गर्ने गरेको भनेर कुटपिट गरेको उनले बताइन्।

‘यहाँ आउँदा दिदीको शरीरमा घाउ थियो। झोलामा सबै लुगा कपडा हालेर केटाले घरबाट निकालेर आधा बाटोमा ल्याएर छोडेछन्,’उनले भनिन्, ‘पछि फोन गरेर आजदेखि तेरो बाटो अलग भयाे, मेरो बाटो अलग भन्यो’ भनेर उनले भनेछन्। दिदीले मलाई पनि याे कुरा सुनाएकी थिइन्।’

श्रीमान् र सासुले तनाव दिएपछि भुवनेश्वरीले गलत बाटो रोजेको उनको आरोप छ। फागुन ७ गते साँझतिर माइत आएकी भुवनेश्वरीलाई राति १० बजेसम्म फोन गरेर उनका पतिले तनाव दिएको उनले बताइन्।

भुवनेश्वरी मौरडास्थित बैजनाथ माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययन गर्थिन्। जेठी छोरीको वियोगले ऐर परिवार विक्षिप्त छ। 

छोरीलाई मर्न बाध्य पारेको भन्दै माइती पक्षले भुवनेश्वरीका श्रीमानविरुद्ध जाहेरी दिन खोजे पनि प्रहरीले जाहेरी दर्ता नगरेको आरोप छ। सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता गर्न गएका बेला आराेपी युवक पनि नाबालिग रहेकाे भन्दै जाहेरी दर्ता नभएको माइती पक्षले बताएका छन्।

भुवनेश्वरीका श्रीमानले आफूहरुलाई कहिले २०, कहिले १५ र कहिले १७ वर्षको भनेर झुटो बोलेको माइती पक्षकाे भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले युवतीको शवको पोष्टमार्टम भएको तर रिपोर्ट नआएको बताए।

तत्काल जाहेरी दर्ता गर्ने गतिलो आधार नपाइएको प्रहरीको दाबी छ।

‘उहाँहरु जाहेरी लिएर हिजो आउनुभएको थियो । पोष्टमार्टम रिपोर्ट आएको छैन’, उनले भने, ‘रिपोर्ट आएपछि त्यसको आधारमा अनुसन्धान प्रक्रिया अघि बढ्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .