सुनसरीको इनरुवाबाट दुई करोड बराबरको नेपाली नक्कली नोट फेला परेको छ। सुनसरी खोला पुल नजिकबाट भारत बिहारका २२ वर्षीय महम्मद शैयाद साफी १ करोड ८२ लाख एकाउन्न हजार रकमसहित पक्राउ परेका हुन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बीआर११ एक्स३४२९ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा एक हजार दरका १८ हजार २ सय ५१ थान नक्कली नोट बरामद भएको सुनसरी प्रहरीले जनाएको छ।
घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको सुनसरी प्रहरीले नक्कली नोटको कारोबारमा गिरोहकै संलग्नता रहेको हुनसक्ने आशंका जताएका छन्। इटहरीबाट समेत प्रहरीले यस अघि ठूलो परिमाणको नक्कली नोट बरामद गरेको र पुनः सोही प्रकृतिसँग मिल्दो घटनाक्रम दोहोरिएकाले कारोबारी समूहमा गिरोहकै संलग्नता हुनसक्ने प्रहरी उपरीक्षक विपिन रेग्मीको भनाई छ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक स्कारपियो चालक हुन्। प्रहरीसहितको चेकिङ देखेर स्कारपियोमा सवार अर्का व्यक्ति भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको जनाएको प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारेको विषय भने अनुसन्धानकै क्रममा रहेको जनाएको छ।
नक्कली नोटको ओसारपसारमा प्रयोग भएको गाडी र सवारी चालक भारतीय भएकाले कारोबारीको संलग्नता सीमापारीबाट समेत हुनसक्ने विषयलाई भने नकार्न नसकिने प्रहरीको भनाई छ। बरामद नक्कली नोट पुराना र नयाँ भण्डारण पश्चात झोलामा हालेर गन्तव्यमा पुर्याउन खोजिएको प्रहरीको भनाई छ।
प्रहरीले उक्त नक्कली नोट इटहरीको बजारमा लैजान खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ। पक्राउ परेका व्यक्तिको हकमा म्याद थप गरी थप अनुसन्धानको प्रकृया जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया