ad ad

समाज


इच्छाराज तामाङलाई ३ वर्ष, पत्नी सृजनालाई डेढ वर्ष कैद सजाय

इच्छाराज तामाङलाई ३ वर्ष, पत्नी सृजनालाई डेढ वर्ष कैद सजाय

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार १८:९, काठमाडौँ

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण भएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय निर्धारण गरेको हो।

यसअघि गत माघ ७ गते इच्छारज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो। आइतबार सजाय निर्धारण गर्न बसेको इजलासले उक्त निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। 

नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो।

विशेषले इच्छाराजलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ पैसा बिगो बराबरको जरिवाना पनि तोकेको छ।

उनकी श्रीमती सृजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ।

केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ।

यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो। 

सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ विगो दाबी गरिएको थियो। सिभिल सहकारी प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल हाल कारागारमा छन्। 

सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए। त्यहीकारण सहकारीमा जम्मा भएको साढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो। 

यसअघि ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

त्यसबेला इच्छाराज र केशव थुनामा पठाउँदा अन्यलाई धरौटी मागिएको थियो। यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको थियो।

सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो। अर्का अभियुक्त सिभिल सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरसँग ५ लाख रुपैयाँ धरौटी अदालतले मागेको थियो। सिभिल सहकारीकै जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनसँग पनि ५ लाख धरौटी मागिएको थियो।

अदालतले सिभिल सहकारीका सहजकर्ता भगवान बहादुर सिंहसँग पनि १० लाख रुपैयाँ धरौटी माग गरेको थियो। सिभिल सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकसँग २ लाख ५० हजार धरौटी अदालतले मागेको थियो।

अदालतले सिभिल सहकारीका लेखा अधिकृत राकेश महर्जनसँग ५० हजार, सिभिल सहकारीकै जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानासँग अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको थियो।

त्यसैगरी सिभिल सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो। तर लेखा सहायक संगीत श्रेष्ठ भने साधारण तारेखमा रिहा भइसकेका छन्। 

त्यसबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल सहकारीका निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा पूर्वसांसद तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो। तामाङका श्रीमती र दुई छोरीलाई पनि प्रतिवादी बनाइएको थियो।

यो मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो। उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो। 

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .