ad ad

समाज


दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सर्वोच्चले बोलायो सरकारलाई

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सर्वोच्चले बोलायो सरकारलाई

नेपालखबर
माघ १९, २०८० शुक्रबार १६:२४, काठमाडौँ

सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सरकारलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेपाल सरकार, सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलको लागि झिकाएको हो। शुक्रबार भएको प्रारम्भिक सुनुवाइपश्चात् अदालतले यो आदेश दिएको हो ।

शुक्रबारको छलफलमा निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले नियुक्तिको मापदण्डमा कानुन व्यवसायीलाई नसमेटिएको र गैरकानुनी योग्यता राखिएको जनाउँदै नियुक्तिको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको माग गरेका थिए। अन्तरिम आदेशउपर छलफल आगामी साता हुने सर्वोच्च अदालतले जनाएको छ।

अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा दूरसञ्चार ऐनले योग्यता तोकेका क्षेत्रलाई पाखा लगाउने प्रपञ्च गरिएको दाबी रिट निवेदनमा गरिएको छ।

कानुन, लेखापरीक्षण तथा व्यवस्थापनको क्षेत्रका व्यक्तिलाई पाखा लगाउने उद्देश्य राखी सरकारी वा संस्थानको राजपत्रांकित प्रथम श्रेणी दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको व्यक्तिलाई मात्र दरखास्त दिन पाउने व्यवस्था गैरकानुनी भएको दाबी रिटमा गरिएको छ।

दूर सञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ५ उपदफा १ मा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रबाट योग्यता र अनुभव भएका अध्यक्षसहितको ५ सदस्यीय प्राधिकरणको बोर्ड गठनको व्यवस्था गरेको छ।

ती सबै क्षेत्रलाई नसमेटी सरकारी वा संस्थानका अधिकृतहरूलाई मात्र अवसर दिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ९ मा विभेदकारी व्यवस्था भएकोले खारेज हुनुपर्ने दाबी रिट निवेदकको छ।

सरकारी वा संस्थानको राजपत्रांकित प्रथम श्रेणी दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरिहेको सरकारी पदधारी व्यक्तिलाई मात्रै अवसर दिँदा ऐनको उद्देश्य पूरा नहुने भएकाले सम्पूर्ण क्षेत्रलाई समेटेर मात्रै अध्यक्ष पदको नियुक्ति गर्न रिटमा माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .