समाज


सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले लियो गोरेसँग बयान

सीआईबीका अधिकारीसँग गरियो सोधपुछ
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले लियो गोरेसँग बयान

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १४:३७, काठमाडौँ

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले बहुचर्चित साढे ३३ किलो सुन तस्करीका योजनाकारमध्ये एक चूडामणि उप्रेती 'गोरे'सँग बुधबार बयान लिएको छ।

केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी ‘गोरे’सँग आयोगले सिंहदरबारमा बयान लिएको हो।

केन्द्रीय कारागारको गोलघरभित्र रहेका गोरेलाई आयोगले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा रहेको कार्यालय बोलाएर बयान लिएको एक सदस्यले जानकारी दिए। 

गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उक्त आयोगले गोरेसँग लिएको बयानको विस्तृत विवरण खुलाएको छैन।

त्यसैगरी आयोगले साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको साढे ६० किलो सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र अनुसन्धान अधिकृतसँग पनि यसबारे सोधपुछ गरेको छ।

लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगसम्वद्ध स्रोतले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा  तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

आयोगको सदस्यहरूमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।

सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सकेर सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन दिन भनेको छ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलो सुन बरामद गरेको थियो। उक्त सुन दुई पांग्रे सवारीसाधानको ‘ब्रेक शू’ भित्र हालेर ल्याइएको थियो।

यो सुन प्रकरणबारे राजस्व अनुसन्धान विभागले सुरुका करिब १९ दिन अनुसन्धान गरेको थियो। त्यसपछि दलीय सहमति र सरकारको निर्देशनमा सीआईबीले अनुसन्धान गरेर मुद्दा पनि चलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .