समाज


बाँदर रोक्न रुख काट्ने निर्णयले पोखराका मेयर र वडाअध्यक्षबीच दोहोरी (भिडिओ)

बाँदर रोक्न रुख काट्ने निर्णयले पोखराका मेयर र वडाअध्यक्षबीच दोहोरी (भिडिओ)

नेपालखबर
माघ १६, २०८० मंगलबार १७:५३, काठमाडौँ

पोखरा महानगरपालिका वडा नं १९ का वडाअध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्न सार्वजनिक आह्वान गरे। सोमबार सूचना प्रकाशित गरी उनले ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न आग्रह गरेका थिए।

सूचनामा ‘आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपरका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन’ आग्रह गरिएको छ।

वडाअध्यक्षको यो विज्ञप्तिप्रति चौतर्फी आलोचना भएपछि पोखरा महानगरले रुख काट्न रोक लगाएको छ। महानगरका प्रमुख धनराज आचार्यले रुख कटानजस्तो विषयलाई प्रक्रियाका रुपमा अगाडि बढाउनु अस्वभाविक भन्दै अहिले त्यो प्रक्रिया रोक्न निर्देशन दिएको बताए।

‘रुख कटानजस्तो विषयलाई अभियानका रुपमा अगाडि बढाउनु भनेको त्यो चाहिँ स्वभाविक पनि हुँदैन र प्रोसेसमा पनि मिलेन। त्यसो भएको हुनाले अहिले हामीले त्यसलाई नगर्नू भनेर पत्राचारसमेत गरिसकेका छौँ’ उनले भने, ‘र, यो प्रोसेस अगाडि बढिसकेको कुरा मैले सार्वजनिक जानकारी गराएको पनि विषय हो।’

वडाअध्यक्ष पाण्डेले भने आफ्नो सूचनाको बचाउ गर्दै बाँदर नियन्त्रणका लागि घर वरपरका रुख हटाउनुपर्ने बताए। उनले बाँदर राेक्ने प्राथमिक उपचार रुख कटान भएको जिकिरसमेत गरे।

उनले भने, ‘हाम्रो भनाई के हो भने आफ्नो करेसाबारी वरिपरीका ठूला रुखहरू, कुकाठहरू, अनि बाँसका झ्गाँङहरू, तिनलाई काट्ने भनेको हो। अहिले कस्तो भने पहिले सबैठाउँमा खेतीपाती हुन्थ्यो। बाँदरले छेउछाउमा गएर खेतीपाती खान्थ्यो। वनजंगलमा प्रसस्त लप्सी हुन्थ्यो, तिँजु हुन्थ्यो, काफल हुन्थ्यो। यि कुराले वनमै रमाउँथ्यो। अहिले मानिस, बस्ती पातलो हुँदै गए। हिँजो धान रोप्ने ठाउँमा, हिजो कोदो रोप्ने ठाउँमा अहिले जम्मै वनजंगल भयो।’

वडाअध्यक्ष पाण्डेले स्थानीयबासी बाँदरका कारण अत्यन्तै पीडित भएकोले नियन्त्रणका लागि ठूलो दबाब रहेको सुनाए। मानिसहरुले विकासका अरु काम भन्दा बाँदर नियन्त्रणलाई प्राथमिकतामा राख्न दबाब दिने गरेको उनको भनाई थियो।

बालीनाली जोगाउन र बाँदर आक्रमणबाट बँच्नसमेत रुख हटाउनुपर्ने उनको तर्क छ।

‘जंगल भएका कारण ति बाँदरहरू त्यहीँ आएर, त्यहीँ बासस्थान बनाएर, सर्वसाधारण, स्वास्थ्यमा कमजोर भएको महिला दिदीबहिनीलार्ई उल्टो आक्रमणसमेत गर्न लागे’ उनले भने, ‘हाम्रो वडामा वर्षेनी पाँच सात जना मान्छे त आक्रमणबाट समेत पीडित छन्।’

वडाअध्यक्ष पाण्डेले घरवरपरका रुख कटान गरेपछि जंगलमा फलफूलका विरुवा रोप्ने योजना पनि सुनाए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .