ad ad

समाज


पीडितले किन गरिनन् प्रतिकार? यस्तो छ अदालतको ठहर

पीडितले किन गरिनन् प्रतिकार? यस्तो छ अदालतको ठहर

नेपालखबर
माघ १६, २०८० मंगलबार १०:४२, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिकार नगरेको मात्र कारणले करणीमा मन्जुरी रहेको मान्न नमिल्ने ठहर गरेको छ। 

न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलामा एक पक्षबाट भौतिक बल प्रयोग भएमा वा बल प्रयोग गर्ने धम्की दिएको अवस्थामा, अर्को पक्ष अचेत रहेको वा शारीरिक रूपमा अशक्त रहेको अवस्थामा प्रतिकार नगरी समर्पण गर्नुपर्ने हुनसक्ने उल्लेख गर्दै यसलाई मन्जुरी मान्न नमिल्ने भनिएको छ। 

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रतिकार नगरेकै कारणले अर्को पक्षको मन्जुरी रहेको अनुमान गर्न मिल्दैन। एक पक्षले धम्की दिएको अवस्थामा अर्को पक्ष प्रतिकार गर्न नसकी समर्पण हुनसक्ने अवस्थालाई मन्जुरी मान्न नहुने।’

फैसलामा अगाडि भनिएको छ, ‘यस्ता निर्बल व्यक्तिहरूलाई अर्को पक्षले सहज रूपमा दुरुपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन् । यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मन्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट पनि हेरिनुपर्ने हुन्छ।’

क्लोज क्याम्पमा रहेको र भोलिपल्ट विदेश जानुपर्ने सन्दीपले आफ्ना लागि तय गरिएको हायात प्यालेसको कोठामा नबसी राति पीडितलाई होटेलमा लिएर जानु, पीडित बसेको कोठामा बस्नुजस्ता क्रियाकलापले उनको मनसाय नै पीडितसँग करणी गर्नु रहेको अदालतको ठहर छ। 

यस्तै अदालतले बलात्कृत किशोरीले त्यसबखत आफू ठीकठाक रहेको भनी साथीलाई गरेको म्यासेज करणीअघिकै भएको ठहर पनि गरेको छ। 

बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको अदालतको फैसलामा लामिछाने पक्षका कानुन व्यवसायीले गरेको दाबीलाई गलत साबित गरिएको छ। 

बहसका क्रममा लामिछानेका कानुन व्यवसायीले पीडितको म्यासेजलाई आधार मानी सफाइ पाउनुपर्ने दाबी पेस गरेका थिए। जुन म्यासेजमा पीडितले लामिछानेसँग आफू सुरक्षित रहेको भनी साथीलाई पठाएकी थिइन्। 

तर अदालतले उक्त म्यासेज घटना भएको समयभन्दा अघि नै लेखेको पाइएको ठहर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .