ad ad

समाज


विज्ञापनमा विदेशी कलाकार प्रयोग गर्न नपाइने

विज्ञापनमा विदेशी कलाकार प्रयोग गर्न नपाइने

नेपालखबर
माघ १५, २०८० सोमबार २१:५४, काठमाडौँ

विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। 

बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए।

उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए। 

ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयना ल्याइएको भन्दै अध्यक्ष हुमागाईंले सोको पालनामा सहयोग गर्न कलाकार र सञ्चारमाध्यमलाई आग्रह गरे। 

विज्ञापनमा अभिनय गर्दा लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लिल र हिंसालाई प्रोत्सहान गर्ने तथा अफवाह फैलाउने खालका हुन नहुने, राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउन नहुने तथा कानुनतः निषेध गरिएका वस्तु र सेवाको प्रवद्र्धन गर्न नहुने आचारसंहितामा उल्लेख छ। 

ती व्यवस्था पालना नभएमा कानुनी कारबाही हुने भएकाले त्यसप्रति सजग रहन अध्यक्ष हुमागाईँले आग्रह गरे। उनले सरकारले ल्याउने सामाजिक सञ्जाल व्यवस्थापन ऐनमा पनि यस विषयमा उपयुक्त व्यवस्था गराउन आग्रह गरिएको जानकारी दिए।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले जानेर वन नजानेर कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै होर्डिङबोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने बताए। 

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विद्यमान ऐन, कानुन र आचारसंहिताको पालनासहित मौलिक र सिर्जनात्मक भई व्यावसायिकतालाई प्रोत्साहन गर्ने गरी विज्ञापनमा कलाकारले अभिनय गर्नुपर्ने बताए। 

कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, गौरी मल्ल, दीपाश्री निरौला, धीरेन शाक्य, रवीन्द्र खड्कालगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .