समाज


टेरामक्स खरिद प्रकरण विवाद : प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिए

टेरामक्स खरिद प्रकरण विवाद : प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिए

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १२:५५, काठमाडौँ

पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएपछि नेपाल नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा गरेका छन्। 

आफ्नो राजीनामा पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामार्फत मन्त्रिपरिषद्समक्ष मंगलबार बिहान बुझाएको खनालले नेपालखबरलाई जानकारी दिए।

दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी कार्य अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) र इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले राजस्व छलेको विषयमा खनाल विवादमा मुछिएका थिए। 

अहिले प्राधिकरणले खरिद गरेको प्रविधि, स्मार्ट टेलिकमको लाइसेन्स विवाद र एनसेल किनबेचको विवाद चलिरहेको छ। यिनै विवादबीच खनालको राजीनामा आएको हो। 

संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको ठहरसहित मुद्दा अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो। 

समितिले उक्त प्रणाली खरिदमा हालसम्मका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रियाको सबै काम यथास्थितिमा राख्दै हालसम्मका कार्यहरूको सूक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेशसमेत उल्लंघन भएको पुस ११ गते जनाएका थिए।

समितिले अख्तियारलाई अनुसन्धानको जिम्मा दिँदै यसको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी दिन पनि भनेको थियो।

लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीसँग छलफल गरेको थियो।

समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाएको थियो। यससँगै खरिदका सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न पनि समितिले निर्देशन दिएको थियो।

यी दुई प्रकरणमा भ्रष्टाचार भएको कुरा संघीय संसद्का संसदीय समितिहरूमा पनि उठेपछि उनीमाथि कारबाहीका लागि दबाब बढेको थियो। 

यससँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खनाललाई पद छाड्न दबाब दिएका थिए।

दूरसञ्चार क्षेत्रमा प्रयोगका लागि प्राधिकरणले खरिद गरेका प्रविधिमा हिनामिनाको कुरा उठिरहेको छ। 

खनाललाई प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमै डाकेर पद छाड्न आग्रह गरेको बताइएको छ।

सरकारले खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषदबाट ५ वर्षे नियुक्ति दिएको थियो।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको पालामा नियुक्त उनी आगामी साउनमा बाहिरिँदै थिए। तर विवादमा मुछिएपछि ७ महिनाअघि नै उनले पद छाडेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .