ad ad

समाज


बोरामा भेटिएका दुई शवको रहस्यः ‘भतिजसँगको सम्बन्धले हत्या’

बोरामा भेटिएका दुई शवको रहस्यः ‘भतिजसँगको सम्बन्धले हत्या’

हत्या आरोपी अखिलेश तथा इन्सर्टमा मृतक ऋषभ र अस्मिता


नेपालखबर
पुस २३, २०८० सोमबार १८:२०, काठमाडौँ

गत मंसिर ६ गते चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक स्थित कल्भर्टमुनी बोरामा राखिएका दुई शवको पहिचान खुलेसँगै हत्याको कारण पत्ता लागेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार मृतक पुरुष भारतको मोतिहारी फुलबारीया, सुगौलीका मुकेश कुमार कुशवाहाको छोरा १९ वर्षीय ऋषभ कुमार कुशवाहा हुन्। यस्तै महिला भारतकै बिहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणका अखिलेश भगतकी छोरी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी हुन्।

भतिज-काकी नाता पर्ने ऋषभ र सन्जुको सम्बन्ध थाह पाएपछि सन्जुका श्रीमान् ३३ वर्षीय अखिलेश भगतले उनीहरूको हत्या गरी शव लुकाएको प्रहरीको दाबी छ।

अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन्। उनीसँग नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा मोतिहारी पुगेर बयान लिएको छ।

प्रहरीका अनुसार घटना विवरण यस्तो थियो :
पुस ६ गते भरतपुरको मिलन चोकस्थित सडक कल्भर्टमुनी शंकास्पद रूपमा रहेको २ वटा जुटको बोरामा अन्दाजी २४/२५ वर्ष उमेरको जस्तो देखिने पुरूष र अन्दाजी ३०-३१ वर्ष उमेरको जस्तो देखिने महिलाको शव फेला परेको थियो।

मुखमा टेप लगाएको, घाँटीमा सल जस्तो रातो कपडाले कसेको, दुवै शवको दुवै हात र खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई बोरा भित्र राखेको अवस्थामा फेला परेको लाशको प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, बागमती प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, सूचना संकलनसमेतको विश्लेषण गरेको थियो।

गत मंसिर ६ गते अन्दाजी १२ः५० बजे चितवनको भरतपुर-१२, मिलन चोकस्थित सडक कल्भर्टमा दुईवटा बोरामा महिला र पुरूषको शव फेला परेका थिए।

मृतकहरू नेपालमा तरकारी र फलफूल व्यापारका लागि पटकपटक आउनेजाने गरेको र अन्तिमपटक दसैंपछि नेपाल आई चितवनको मिलनचोकस्थित मृतक पुरुषको काका नाता पर्नेको कोठानजिकै डेरा लिई बस्दै आएका थिए।

मृतक पुरुष (ऋषभकुमार कुशवाह) र महिला (अस्मिता भन्ने सन्जु देवी) को बीचको सम्बन्धमा सन्जु देवीको श्रीमान् अखिलेश भगतले शंका गरी यही विषयलाई लिएर झैझगडा समेत गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

मंसिर २ गते ऋषभकुमार कुशवाह र सन्जु देवीलाई अखिलेश भगतले उनीहरू बस्ने गरेको कोठामै गएर हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि दुवै शव २ वटा जुटको बोरामा बन्द गरे। मंसिर ३ गते पौने १ बजे र १ः१२ बजेतिर २ पटक गरी साइकलमा कलभर्टतर्फ लगेको सीसीटीभी दृश्यमा देखिएको छ।

मंसिर १६ गते अखिलेश भारततर्फ लागे।

भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा भारतको प्रहरी थाना सुगौली बिहारमा समेत अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी मुद्दा रहेको पत्ता लाग्यो।

पुस १६ गते अखिलेशलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हाल भारतको केन्द्रीय कारागृह, मोतिहारीमा राखेको छ। नेपाल प्रहरीले पनि भारतीय प्रहरीको समन्वयमा अनुसन्धान तथा सोधपुछ गरेको हो।

त्यस क्रममा उनले नेपालको चितवनमा भतिजा नाता पर्ने ऋषभकुमार कुशवाह र आफ्नो श्रीमती अस्मिता भन्ने सन्जु देवीलाई हत्या गरी आएको भनेर स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .