गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो।
योसँगै निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन् । नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो । अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका छन्।
तीन दिनमा राप्ती नदीको अनुगमन सकेर नारायणी नदीमा अनुगमनको काम भइरहेको छ । नारायणी नदीमा तेस्रो दिन बागवान पोष्टबाट नारायणगढतर्फ अनुगमनको काम भइरहेको हो । बिहीबार नारायणी नदीको अनुगमन सकेर शुक्रबारदेखि बूढीराप्तीमा अनुगमन गर्ने कार्यक्रम छ।
हरेक वर्ष यसै समय नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले एक साता लगाएर अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आउँदो चैत र वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो। रासस
219
Shares

प्रतिक्रिया