समाज


पदवहाली गर्दै परराष्ट्र सचिवले भनिन् : विपिनलाई हमासबाट छुटाउने पहल दोब्बर बढाउँछु

राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने
पदवहाली गर्दै परराष्ट्र सचिवले भनिन् : विपिनलाई हमासबाट छुटाउने पहल दोब्बर बढाउँछु

रासस
मंसिर २९, २०८० शुक्रबार १७:१३, काठमाडौँ

नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता जनाएकी छन्। 

परराष्ट्र मन्त्रालयमा शुक्रबार पद बहाली गरेपछि उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन्। 

‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु’, समूह भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्।

देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई  प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उनले बताइन्। 

फरक प्रसङ्गमा परराष्ट्र सचिवले हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताइन्।
    
नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन्। 

रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उनले अनुमतिपत्र प्रदान गरिने बताएकी हुन्। 

ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन्। 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।

पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसकेकी उनले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा सेवा गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad