ad ad

समाज


कोइरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सकिएन, भोलि जवाफी बहस

कोइरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सकिएन, भोलि जवाफी बहस

नेपालखबर
मंसिर २७, २०८० बुधबार १६:४४, काठमाडौँ

एमाले सांसद लक्ष्मी महतो कोइरी जोडिएको ज्यान मुद्दामा आज पनि सुनुवाइ सकिएन।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा सोमबारदेखि भइरहेको सुनुवाइ भोलि बिहीबार पनि निरन्तर रहने भएको छ। सुनुवाइको तेस्रो दिन पनि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

हिजोसम्म सरकारी वकिल र पीडितका तर्फबाट बहस चलेको थियो भने आज प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेको जिल्ला अदालत, महोत्तरीकी स्रेस्तेदार नूतन झाले नेपालखबरलाई जानकारी दिइन्।

भोलि बिहीबार सरकारी वकिलले फेरि जवाफी बहस गर्नेछन्। जवाफी बहस सकिएपछि मुद्दा फैसलाको चरणमा प्रवेश गर्नेछ।  

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)थमन विकको हत्यासम्बन्धी मुद्दामा एमाले सांसद कोइरी (हाल निलम्बित)सहित २८ जना अभियुक्त छन्।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो। 

कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन्।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी-१ बाट निर्वाचित भएका थिए। 

उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँ बानेश्वरमा सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि संसदका केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि फरार भएका हुन्। 

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .