समाज


वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न काठमाडौंसहित विश्वका आठ ठूला सहरको प्रतिबद्धता

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न काठमाडौंसहित विश्वका आठ ठूला सहरको प्रतिबद्धता

फाइल फोटो


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:२५, काठमाडौँ

काठमाडौं महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन्।

यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन्।   

संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप–२८) जारी रहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसीप फर हेल्दी सिटिज) को विश्व सञ्जालमा आवद्ध सहरका प्रमुखले यस्तो प्रतिबद्धता जनाउका हुन्।

आठ देशका प्रमुखले बुधबार सार्वजनिक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ,‘जनसङ्ख्याको आकार र चुनौतीसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन्। कोप २८ मा विश्व नेता भेला भइरहँदा, हामी विश्वभरका सहरलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रम अपनाउन नागरिकको जीवन सुधार गर्न सार्वजनिक स्वास्थ्यकार्य प्रवर्द्धन गर्न आह्वान गर्दछौँ।’

सो अवसरमा कामपाका प्रमुख बालेन्द्र साह (बालेन) ले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहेको बताए। बङ्गालादेशको ढाका उत्तर नगरका प्रमुख मोहम्मद अतिकूल इस्लामले आफ्नो सहरले प्रदूषणमापन यन्त्र जडान गरेर वायु गुणस्तर निगरानीलाई थप बलियो बनाउँदै प्रभावकारी जनस्वास्थ्य नीति अवलम्बन रहेको जानकारी दिए।

सिकागो सहरका प्रमुख ब्राण्डन जोन्सनले आफ्नो सहरले समुदायस्तरमा वायु प्रदूषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गरेका छन्। वायु प्रदूषणको अवस्था ठाउँअनुसार फरक हुने बताउँदै उनले अनुगमन रणनीतिका बारेमा समुदायस्तरमा समान बुझाइ विकास गर्न ध्यान दिएको बताए।

सार्वजनिक स्वास्थ्यमा बढ्दै गएको प्रभाव र जोखिम घटाउन, सहरलाई स्वस्थ्य बनाउन आफूहरु साझेदारी अंशको रूपमा रहेको प्रमुखको भनाइ छ। नसर्ने रोगबाट हुने मृत्यृको रोकथाम गर्दै सुरक्षित, उत्थानशील, अधिक लचिलो र अधिक समान सहर निर्माणमा आफूहरुले साझा सङ्कल्पका साथ काम गरिरहेको उनीहरुको भनाइ छ।

जनस्वास्थ्य र वातावरणका लागि वायुप्रदूषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ। यसको कारणबाट वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad