समाज


बढुवा सिफारिस भएका उपरथी सिग्देलको जन्ममिति पनि विवादित, उमेर घटाउन तीनपटक अभिलेख केरमेट

नेपाली सेनाको भावी नेतृत्वमा पुनः अनिश्चयको बादल
बढुवा सिफारिस भएका उपरथी सिग्देलको जन्ममिति पनि विवादित, उमेर घटाउन तीनपटक अभिलेख केरमेट

नेपालखबर
मंसिर १८, २०८० सोमबार २२:४३, काठमाडौँ

नेपाली सेनाका भावी प्रमुखका रूपमा हेरिएका उपरथी अशोकराज सिग्देलको पनि जन्म मितिसम्बन्धी कागजात विवादास्पद देखिएका छन्।

जन्म मितिसम्बन्धी विवादित कागजात छानबिनै नगरी जंगी अड्डाले भने सिग्देललाई भावी प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी पदमा बढुवाका लागि सिफारिससहितको फाइल रक्षा मन्त्रालयमा पठाइसकेको छ।

यस्तै विवाद बेहोरेपछि बढुवाको मुखैमा पुगेर उपरथी ताराध्वज पाण्डेले प्रधानसेनापतिको दौड नै त्यागेर हिँडेका थिए।

सिग्देलका कागजात पनि उस्तै विवादित देखिएपछि नेपाली सेनाको भावी नेतृत्वमा पुनः अनिश्चयको बादल छाएको छ।

यस्तो छ विवाद
सिग्देल हाल नेपाली सेनाको नीति महानिर्देशक छन्। उनी वरिष्ठतम् उपरथी पनि हुन्।

कागजातहरूमा सिग्देलको स्थायी ठेगाना रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ७ उल्लेख गरिएको छ। उनी विश्वराज सिग्देलका छोरा हुन्।

नेपालखबरलाई प्राप्त कागजातहरू अनुसार, उपरथी सिग्देलले २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट नागरिकताको प्रमाणपत्र बनाउँदा उमेर १९ वर्ष लेखाएका छन् भने ढड्डामा जन्म मिति २०२१ साल जनाइएको छ।

तत्कालीन समयमा नागरिकताको प्रमाणपत्रमा जन्म मिति उल्लेख नगरी बनाउँदाको मितिमा हुन आउने उमेर मात्र ‘वर्ष’मा उल्लेख गर्ने चलन थियो। रुपन्देही प्रशासनमा रहेको नागरिकताको ढड्डामा हालसम्म उनको जन्म मिति २०२१ साल नै उल्लेख छ।

परीक्षा नियन्त्रण कार्यालयको अभिलेखअनुसार, २०३९ सालको प्रवेशिका (एसएलसी) परीक्षामा पनि यही जन्ममिति उल्लेख छ। सिम्बोल नं ८८०५९ डब्लु रहेका उनले एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेका थिए।

२०४० मा सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) मा भर्ना हुँदाको अभिलेख (२०४०-४२ मानविकी पाँचौँ ब्याच, दर्ता नं. १६) र त्रिभुवन विश्वविद्यालयको अभिलेख (रजिस्ट्रेसन नं ७०८–८४) मा पनि जन्म मिति २०२१ चैत १९ उल्लेख गरिएको देखिन्छ।

सिग्देलले २०४३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको कागजातले देखाउँछ। त्यतिन्जेल उनको जन्म मिति २०२१ चैत १९ भन्ने नै देखिन्छ।

त्यसपछि भने सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख कमलराजसिंह राठौरले चारित्रिक प्रमाणपत्र बनाउँदा उनको उमेर घटाइदिएका छन्। २०४३ भदौ १२ गते राठौरले जारी गरेको प्रमाणपत्रमा जन्म मिति २०२३ माघ १९ गते लेखिदिएका छन्। 

तिनै सिग्देल २०४३ फागुनमा नेपाली सेनामा भर्ना हुन्छन्, आफ्नो नागरिकताको प्रमाणपत्रमा उल्लिखित उमेर १९ वर्षलाई केरमेट गरी १७ वर्ष बनाएर।

वास्तविक जन्म मितिका आधारमा सेनामा भर्ना हुने उमेर २१ वर्ष नाघिसकेकोले जागिर खाने उद्देश्यले उनले नागरिकतामा केरमेट गरेको प्रस्ट देखाउँछ।

सुपिङ क्याम्पस र त्रिभुवन विश्वविद्यालयको अभिलेख समेतमा स्पष्ट रूपमा जन्म मिति २०२१ चैत १९ उल्लेख हँदाहुँदै हाल सैनिक प्रतिष्ठान खरिपाटीमा अध्यापनरत सुपिङ क्याम्पसका तत्कालीन प्रमुख राठौरसँग मिलेमतो गरी सिग्देलले जन्म मिति बदलेर प्रमाणपत्र नै किर्ते गरेको देखिन्छ।

यतिले नपुगेर सिग्देलले रुपन्देही जिल्लाबाट बनाएको नागरिकतामा गरेको केरमेट ढाकछोप गर्न २०५८ सालमा आफ्नो पद र शक्तिको प्रभावमा जाजरकोटबाट अर्को प्रतिलिपि नागरिकता लिएका छन्, जसमा जन्म मिति २०२३ माघ १९ गते लेखाएका छन्।

उपरथी दर्जामा बढुवा हुन उनले २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा पनि केरमेट गर्न लगाए। विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्म मिति २०२१ चैत १९ लाई मेटेर उनले २०२३ माघ १९ बनाउन लगाए। साथै, प्रवेशिका परीक्षाको अभिलेख रहेको परीक्षा नियन्त्रण कार्यालयको ढड्डामा समेत त्यही बेला परिवर्तन गरेको देखिन्छ।

यसरी उपरथी सिग्देलले २०४३, २०५८ र २०७६ सालमा गरी तीनपटक फरकफरक मितिमा विभिन्न कागजातमा जन्ममिति हेरफेर गरेको देखिन्छ। यी विषयमा रुपन्देही जिल्ला प्रशासन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयका अभिलेख झिकाइ स्वतन्त्र र निष्पक्ष जाँच हुनुपर्ने माग गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि रक्षा मन्त्रालयमा समेत उजुरीहरू परेका छन्।

सैनिक ऐनअनुसार उपरथी पदमा ५७ वर्षको उमेरसम्म जागिर खान पाइन्छ। सहायक रथीबाट उपरथीमा बढुवा भएपछि पहिलोपल्ट पदावधि ३ वर्षको हुन्छ। उमेर ५७ वर्ष नाघेको छैन भने प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषदले २ वर्ष थप्न सक्छ। सिग्देल पनि २ वर्ष थपिएका अधिकारी हुन्।

वास्तविक जन्म मितिअनुसार २०७८ सालमै उनी सेवा निवृत्त हुनुपर्ने हो। अझ उनी सेवा प्रवेशकै बेला २१ वर्षको हद पार गरिर अयोग्य भइसकेकाले किर्ते गरेर सेनामा छिरेको देखिन्छ। 

नेपाली सेनामा यस्तो जन्ममिति विवाद निकै बढी सतहमा आएपछि २०७१ सालमा नीतिगत निर्णय नै गरिएको थियो। जसअनुसार, शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक पर्दा सबैभन्दा अघिल्लोलाई आधार मान्नुपर्छ। यस नियमले पनि सिग्देललाई अहिलेसम्म छोएको देखिँदैन।

के गर्ला मन्त्रालयले?
उपरथी सिग्देललाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिससहितको फाइल रक्षा मन्त्रालयमा पठाइसकेको छ। प्रधानसेनापति अध्यक्ष हुने बढुवा समितिले ७ दिने सूचना जारी गरी उनका विरूद्धमा उजुरी माग गरे पनि कुनै उजुरी नपरेपछि जंगी अड्डाबाट फाइल मन्त्रालय पुगेको देखिन्छ।

तर, मन्त्रालयबाट यो फाइल सहजै अघि बढ्ने देखिँदैन। एक त अख्तियारले सिग्देलविरूद्ध परेका उजुरी र सम्बन्धित कागजात मन्त्रालयमै पठाएर छानबिन गर्न भनेको छ। अर्को, सिग्देलको फाइल सिंहदरबार पुग्नासाथ उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्र संघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन सोमबार घाना प्रस्थान गरिसकेका छन्। उनी शनिबार मात्र स्वदेश फर्कने कार्यक्रम छ। आइतबारसम्म भद्रकालीमुनिको टुकुचामा धेरै पानी बगिसकेको हुनेछ।

स्रोतअनुसार, मन्त्री खड्काले यो विवाद जंगी अड्डाबाटै समाधान होस् भन्ने चाहेका छन्। विवादित फाइल बोकेर उनी मन्त्रिपरिषद् बैठकमा जाने सम्भावना कम छ। यसअघि ताराध्वज पाण्डेको विवादमा पनि खड्काले यही नीति अपनाएका थिए।

तर, त्यतिखेर पाण्डे राजीनामा दिएर हिँड्नुको मुख्य कारण उनका कागजात छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनाउनु थियो। सिग्देलका हकमा अहिलेसम्म कुनै पनि तहमा छानबिनको पहल गरिएको छैन। त्यसैले न उनी राजीनामा दिएर हिँड्छन् भन्ने यकिन भएको छ, न त जंगी अड्डाले कोर्टमार्सल गर्ने निश्चितता छ।

निश्चितचाहिँ के छ भने विवादकै बीच सरकारले बढुवा गरिहाले पनि उनीमाथि जन्म मिति विवादको तरबार रहिरहनेछ। उपरथीबाट रथी भए पनि महारथी बन्ने बेलासम्म त्यो तरबार जुनसुकै बेला चल्न सक्नेछ।

बढ्दो अन्योल र रिक्तता
नेपाली सेनामा प्रधानसेनापति (महारथी)पछिको वरीयतामा रथी पद हुन्छ। हालको संगठन संरचनामा २ जना रथीको दरबन्दी कायम छ। तीमध्ये एउटा बलाधिकृत हुन्छन् भने अर्को बलाध्यक्ष।

बलाधिकृत रथी सरोजप्रताप राणा अवकासमा गएकाले गत कात्तिक १२ गतेबाट खाली भइसकेको हो। उनको ठाउँमा नयाँ पदपूर्ति हुन सकेको छैन।

बलाध्यक्ष रथी सीताराम खड्का पनि पुस ३ गते अनिवार्य अवकास पाउँदै छन्। त्यसभन्दा १५ दिनअगावै उनले अनिवार्य बिदा बस्नुपर्नेछ। यस हिसाबले पुस १८ बाट उनी पनि घर जानेछन्।

नेपाली सेना रथीविहीन हुनेछ।

राणाको अवकासका कारण खाली हुन गएको रथी पदमा बढुवाका लागि उपरथीमध्येबाट वरिष्ठतम् रहेका ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न सैनिक मुख्यालयले गत असोज अन्तिम साता प्रक्रिया अघि बढाएको थियो। बढुवासम्बन्धी फाइल सिंहदरबार पुगिसकेपछि जन्म मिति विवादमा छानबिन अघि बढ्यो र कात्तिक २४ गते उनी राजीनामा दिएर सेवाबाट बाहिरिए।

अब दुवै रथी पद रिक्त हुन लाग्दा पनि नयाँको टुंगो नलाग्दा भावी प्रधानसेनापति को हुने भन्ने अन्योल झन् गहिरिएको छ।

प्रधानसेनापतिमाथि प्रश्न
प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा घर जाँदै छन्। तर, उनले आफ्नो उत्तराधिकारीका रूपमा अघि बढाएका दुवै उपरथी विवादमा मुछिनु सामान्य विषय छैन।

एकपछि अर्को उच्च सैनिक अधिकारी कागजात किर्तेसम्बन्धी विवादमा मुछिँदा सैनिक नेतृत्वमाथि नैतिक प्रश्न खडा गर्छ।

हुन त यसअघि पनि नियुक्ति र बढुवा गर्ने अधिकारीहरूले के हेरे भन्ने प्रश्न नउठ्ने होइन। तर, सेना प्रमुखकै अध्यक्षतामा बढुवा समिति बनेर सिफारिस गरिसकेपछि यी विवाद र शंकास्पद कागजात छताछुल्ल हुँदा उनले के आधारमा बढुवा गरे र किन छानबिन गरेनन् भन्ने प्रश्न अवश्य उठ्छ।

सैनिक मुख्यालय स्रोतका अनुसार, पाण्डे र सिग्देलका कागजातबारे प्रश्न धेरैअघि उठेका हुन्। पाण्डे प्रकरणबाट त झनै पाठ सिक्नुपर्ने थियो। तर, त्यसो हुन सकेन। परिणामतः सेनाकै अभिलेख प्रणाली र सैन्य नेतृत्वमाथि प्रश्न उठ्ने गरी नयाँनयाँ प्रकरण बाहिरिँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .