ad ad

समाज


रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
मंसिर ११, २०८० सोमबार १४:३३, काठमाडौँ

सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर उपप्रमुख सविना कुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

वडा नं. ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरेको अख्तियारेको ठहर छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सव इन्जिनियर हर्षलाल चौधरीले सम्पादन भएको कार्यहरुको बढी परिमाण नापी कितावमा समाबेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरी झुट्टा बिल, नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २ लाख १२ हजार७३ रुपैयाँ ५८ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

यस्तै, तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नं ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं ३ का तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीले अनुगमन तथा मूल्याङ्‍कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरेको अख्तियारले जनाएको छ।

साथै जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) ले सरकारी सम्पत्तिमा गैरकानूनी हानि र आफूलाई लाभ पुर्‍याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाएको अनुसन्धानका क्रममा खुलेको छ।

अख्तियारले उनीहरुउपर २ लाख १२ हजार७३ रुपैयाँ ५८ पैसा विगो कायम गरी कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .