समाज


प्रसाईँको बोली ‘घृणास्पद, स्त्रीद्वेषी र फौजदारी कारबाहीको लायक’

‘बारम्बार साम्प्रदायिक अभिव्यक्ति दिए पनि उनैलाई नायक मानेर पछि लाग्नु घातक प्रवृत्ति’
प्रसाईँको बोली ‘घृणास्पद, स्त्रीद्वेषी र फौजदारी कारबाहीको लायक’

लक्ष्मी बलायर
मंसिर १०, २०८० आइतबार १६:३२, काठमाडौँ

व्यवस्था उल्टाएर राजा फर्काउने दाबीसहित देशभरिबाट काठमाडौँमा समर्थक भेला पारेका व्यवसायी दुर्गा प्रसाईँ आफ्नै बोलीको पासोमा पर्दै गएका छन्।

उनका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ। अधिकारकर्मी एवं कानुनविद्हरूले उनका अभिव्यक्ति सामाजिकरूपमा मर्यादा र लैंगिक संवेदनशीलताका दृष्टिले आपत्तिजनक रहेको बताएका छन्।

यिनै अभिव्यक्तिलाई लिएर उनीमाथि कानुनी कारवाही पनि हुन सक्ने उनीहरूको भनाइ छ।

शनिबार काठमाडौँको सिफलमा भएको भेलामा भाषण गर्दैँ पसाईँले प्रेस काउन्सिलको आलोचना गर्ने क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको नामै लिएर भनेका छन्, ‘बालकृष्ण बस्नेतले चिठी लेखेर पठाएको होइन? यहाँका चेलीबेटीलाई लिएर जानू। यी हाम्रा चेलीबेटी तीनचार दिनदेखि ननुहाई बसेका छन्। उनीहरूलाई लगेर बालकृष्णलाई लाइदिनू।’

प्रेस काउन्सिलले हालै प्रसाईँले दिएका उत्तेजनापूर्ण अभिव्यक्ति जस्ताको तस्तै प्रसारण गर्ने युट्युब च्यानलहरूको सूची नै सार्वजनिक गरी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको थियो।

नेपाल प्रेस काउन्सिलका अध्यक्षलाई तीन दिन ननुहाएका महिला लगाइदिने भन्ने पसाईँको अभिव्यक्तिले महिलाको अपमान गरेको भन्दै अधिकारकर्मीलगायतले सामाजिक सञ्जालमा विरोध जनाएका छन् र कारबाहीको माग गरिरहेका छन्।

मानव अधिकारकर्मी मोहना अन्सारी दुर्गा पसाईँले महिलाकेन्द्रित दिएको अभिव्यक्ति निकै आपत्तिजनक रहेको बताउँछिन्।

‘दुर्गा पसाईँको महिलाप्रतिको टिप्पणी सुनेर रिस उठिरहेको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘प्रसाईँको आन्दोलनलाई भनेर महिलाहरू तीन–चार दिनदिनदेखि घर छोडेर आएका छन्।  तर, वास्तविक रुपमा महिलाको स्थान परिवर्तन नभएको उनको अभिव्यक्तिले देखाउँछ। यसअघि बंगलादेशमा नर्सबारे बोलेको कुराले पनि उनी राम्रो चरित्रको मान्छे होइनन् भनेर देखाउँछ। अहिले महिलाप्रति बोलेको कुरा निकै आपत्तिजनक छ।’

मंसिर ९ गते काठमाडौँको सिफलमा भेलालाई सम्बोधन गर्दै दुर्गा प्रसाईँ

कानुन व्यवसायी पनि रहेकी अन्सारीका भनाइमा, प्रसाईँले गरेको टिप्पणीलाई लिएर कानुनी कारबाहीमा जान सकिन्छ।

‘यसरी प्रसाईँले महिलालाई लिएर सार्वजनिक रूपमा बोल्न मिल्दैन। १६ दिने महिलाविरुद्ध हुने हरेक प्रकारको हिंसा अन्त्य गर्ने प्रतिबद्धताको बेला घृणित प्रहार हुनु दु:खको कुरा हो। यसै भिडियोलाई लिएर प्रहरीले अनुसन्धानमा ल्याउन सक्छ।’

यस्तो विषयमा प्रहरीले उजुरी पर्खिएर बस्न पनि नहुने उनको भनाइ छ।

अधिकारकर्मी एवं अधिवक्ता ओमप्रकाश अर्याल प्रसाईँले शृंखलाबद्ध दिइरहेका अभिव्यक्ति हिंसा भड्काउने, धम्क्याउने, आपराधिक बल प्रयोग गर्ने र घृणा फैलाउने खालका रहेका फौजदारी कसुरमा कारबाही चल्न सक्ने बताउँछन्।

‘पहिलादेखि नै दुर्गा पसाईँले यस्तो बोल्दै आएका छन्,’ अर्याल भन्छन्, ‘महिलाको अपमान त गरेका छन् नै, कतिपय समुदायमाथि नै लाञ्छना लगाएर साम्प्रदायिकता भड्काउन खोजेका छन्। हेट स्पिच (घृणास्पद अभिव्यक्ति) दिइरहेका छन्। यस्तो छाडा अभिव्यक्ति दिनेलाई फौजदारी कानुनको दायरामा ल्याउनुपर्छ।’

उनलाई जे बोल्दा पनि कारबाही नगरेर यो देशमा कानुन नै छैन भन्ने सन्देश प्रवाह गरिएको उनको टिप्पणी छ।

उनका अनुसार, महिला र समुदायलक्षित दुर्गा पसाईँको टिप्पणी राज्यविरुद्धको कसुरमा पर्छ। महिलालगायत विभिन्न समुदायको आत्मसम्मानको संरक्षण गर्नु राज्यको दायित्व हुन्छ। त्यसैले यस अभिव्यक्तिविरुद्ध कानुनी उपचारमा जान सकिन्छ।

मुलुकी अपराध संहिताको दफा ४९ उपदफा ४ मा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन नपाइने, त्यस्तो कामका लागि उक्साउन पनि नहुने उल्लेख छ। विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्न-गराउनुलाई पनि कसुर करार गरी संहिताले सजायको व्यवस्था गरेको छ।

हेर्नुहोस् अपराध संहिताको परिच्छेद १-

यस्तो अपराध गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

अधिवक्ता शशि बस्नेत कुनै पनि समुदाय, वर्ग, जातजातिको सम्मानमा चोट पुर्‍याउने अभिव्यक्ति हेट स्पिचमा पर्ने बताउँछिन्। उनका अनुसार, पसाईँले एउटा व्यक्तिलाई गाली गरे पनि महिला समुदायलाई जोडेका कारण यसलाई सामान्यरूपमा लिनुहुँदैन।

‘यस्तो भाषा प्रयोग गर्दा एउटा व्यक्तिलाई मात्रै होइन, समग्र समाजलाई नै असर परिरहेको हुन्छ,’ अधिवक्ता बस्नेतको भनाइ छ, ‘स्वयं महिला पनि उनको प्रदशर्नमा सहभागी छन्। उनीहरूको अगाडि महिलालाई घृणित देखाउने र महिलामाथि मजाग गर्ने हर्कत देखाएका छन्, जुन दण्डनीय छ।’

त्यसो त पसाईँले महिलाको सम्मान र सामाजिक मर्यादाबाहिर गएर यसअघि पनि पटकपटक अभिव्यक्ति दिएका छन्। उनले दुबईका बाटामा नेपाली चेली दुई दिराममा बिक्री भइरहेको भन्नेजस्ता अत्यन्त आपत्तिजनक टिप्पणी पनि गरेका छन्। एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले आफ्ना बाउले सातवटी ल्याएको र आफूले पनि प्रत्येकलाई घर किनेर राख्न सक्ने भनेका थिए र त्यो बिनासम्पादन प्रसारण गरिएको थिए।

बारम्बार स्त्रीद्वेषी, घृणास्पद र साम्प्रदायिक अभिव्यक्ति दिए पनि एउटा तप्का उनैलाई नायक मानेर पछि लाग्नु अर्को घातक प्रवृत्ति रहेको बस्नेतको भनाइ छ। ‘यस्तै व्यक्तिलाई हिरो मानिरहँदा आम समुदायले महिलालाई हेर्ने दृष्टिकोण देखाउँछ,’ उनी भन्छिन्, ‘यसले समाज नै स्त्रीद्वेषी बन्छ। जसले महिलामाथि हुने हिंसा र लैङ्गिक विभेदलाई प्रोत्साहन दिन्छ। यदि दुर्गा पसाईँले आफूलाई समाज परिवर्तन गर्ने बाटोमा हिँडिरहेको छु भनेर सोच्छन् भने उनले लैङ्गिकमैत्री हुनुपर्छ। उनले सुध्रिन चाहेको हो भने तुरुन्त माफी माग्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .